काठमाडौं- बारामा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर दुई जनाको ज्यान गएको छ। बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति रथले किचेर दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य १६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका-७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल-७ की १६ वर्षीया निलम कुमारी राम रहेका छन्।
दुवैजनाको कलैया अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। बेहुला लिएर नस्किन लागेको रथ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला निकाल्ने तयारी हुँदै गर्दा रथ दुर्घटना भएको हो। बेहुला भने रथमा चढ्न बाँकी नै रहेकाले उनी दुर्घटनामा पर्नबाट जोगिएका छन्।