धनगढी- कैलालीमा हायस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। अत्तरियाबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायसले ल ना ४ ख १९१५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
पाठक पेट्रोल पम्प नजिक हायले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी नवराज पोखरेलले दुर्घटनामा १६ जना घाइते भएको जानकारी दिएका छन्।
दुर्घटनामा घाइते हुनेमा हायस चालक गौरीगंगा नगरपालिका-९ का ३५ वर्षीय धर्मराज जोशी, धनगढीकी अम्रिता चन्द, दीपिका जोशी, विमला जोशी, कञ्चनपुर भीमदत्त नगरपालिका-१९ की शारदा भट्ट, गोविन्द भट्ट, शुक्लाफाँटा नगरपालिकाका मणि जोशी, रमेश जोशी र पुष्पा भट्ट रहेका छन्।
यस्तै भारतको लखनउ बस्ने चन्द्री रावत, महेन्द्र रावत, अविजित रावत, रूपन हरिजंग, किशोर हरिजंग, प्रेम कुँवर र रजनी हरिजंग पनि घाइते भएका छन्।
घाइतेमध्ये चालक जोशी र विमला जोशीको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको धनगढी र अत्तरियाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।