काठमाडौं– पछिल्ला केही सातायता कोभिड संक्रमणको दर ह्वात्तै बढेको छ। दैनिक परीक्षणको ५० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भइरहेको छ। संक्रमण दर सरकारी तथ्यांकभन्दा धेरै रहेको जनस्वास्थ्यका विज्ञहरुले बताइरहेका छन्।
कोरोनाको तेस्रो लहरसम्म आइपुग्दा अस्पतालमा पनि संक्रमण नराम्रोसँग फैलिएको छ। ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन्।
बढ्दो कोभिड संक्रमणलाई ध्यानमा राख्दै सरकारले देशभरका ७८ वटा अस्पताललाई कोभिड–१९ केयर युनिट सञ्चालन भएका अस्पतालको सूचीमा राखेको छ।
कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमितको उपचार गर्न नसकेर थलिएका उपत्यकाका अस्पतालको अहिलेको अवस्था कस्तो छ त?
टेकु अस्पताल
कोभिड महामारीको सुरुदेखि नै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको कोभिड उपचारमा महत्वपूर्ण भूमिका छ। पहिलो र दोस्रो गरी महामारीका दुवै लहरमा यस अस्पतालले २५ सयभन्दा बढी संक्रमितको उपचार गरिसकेको छ। हाल अस्पतालका ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप कार्यक्रम स्थगित नै गर्नुपरेको छ। अस्पतालका कोभिड फोकल पर्सन विमल चालिसेका अनुसार कोरोना संक्रमण बढेसँगै अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ भने ठूलो संख्यामा स्वास्थ्यकर्मी चिकित्सक संक्रमित हुन पुगेका छन्।
‘आइतबारसम्म ५१ जना स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएका छन्। अहिले कोरोना संक्रमण भएको ७ दिनपछि परीक्षण गरी चिकित्सकहरु काममा फर्किएका छन्, त्यसैले अस्पतालको सेवामा धेरै प्रभाव परेको छैन तर खोप अभियान भने स्थगित गर्नुपर्यो,’ उनले भने।
चालिसेले थपे, ‘पहिलो र दोस्रो लहरको तुलनामा यसपटक अस्पतालमा बिरामीको संख्या पनि न्यून छ। अस्पतालमा बिरामीको बसाइ अवधि पनि छोटो छ। बिरामीहरु दुई तनी दिनमा नै घर फर्कन सकेका छन्। अर्को कुरा अस्पतालमा भर्ना भएका बिरामीमध्ये २० प्रतिशतले कोरोनाविरुद्धको खोप नै लगाएका छैनन्, खोप नलगाएकालाई अक्सिजन दिनुपरेको छ,’ उनले भने।
वीर अस्पताल
सरकारले वीर अस्पताललाई केन्द्रीय कोभिड युनिफाइड अस्पताल तोकेको छ। कोभिड–१९ युनिफाइड अस्पतालले काठमाडौं उपत्यकाभित्रका १३ वटा कोभिड अस्पताल र सबै प्रदेशका सात वटा अस्पतालसँग समन्वय गर्दै आएको छ। वीर अस्पतालमा पाँच सय बेड सञ्चालित छन्। अस्पतालमा सय वटा आईसीयू र सय वटा एचडीयू छन्। आवश्यक परेको खण्डमा पुरानो वीर अस्पताललाई पनि प्रयोगमा ल्याउन सकिने अस्पतालका कोभिड फोकल पर्सन अच्युत कार्कीले बताए।
कार्कीका अनुसार हाल अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। १५१ जना संक्रमित भर्ना भएकामा २९ जना आईसीयूमा, ४१ जना एचडीयूमा छन् भने अन्य संक्रमित सामान्य बेडमा छन्। अस्पतालमा भर्ना हुने बिरामीमध्ये धेरैजसो दिर्घरोगी छन्। ‘भर्ना भएकामध्ये ५० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छैनन्। शुक्रबारको तथ्यांक अनुसार १०६ जना भर्ना भएकामध्ये ५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका थिएनन्। खोप नलगाउनेहरुलाई नै अक्सिजन दिनुपरेको छ,’ कार्कीले भने। अस्पतालमा हाल ३० प्रतिशत बेडमा बिरामी रहेको उनले जानकारी दिए।
‘अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या पनि धेरै छ। ८० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि स्वास्थ्य सेवा प्रभावित त भएको छ तर बिरामीलाई हेर्ने नमिल्नेगरी सेवा प्रभावित छैन,’ कार्कीले भने, ‘अहिलेको संक्रमण त्यति जटिल नभएकाले ५ दिनपछि एन्टिजेन परीक्षणमा नेगेटिभ आउने स्वास्थ्यकर्मीलाई काममा बोलाइएको छ। त्यसैले स्वास्थ्यकर्मी संक्रमित भए पनि धेरै समस्या भएको छैन।’
सशस्त्र प्रहरी अस्पताल बलम्बु
सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ८१ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। अस्पतालले लक्षण नभएकालाई ७ दिनमा परीक्षण गरेर संक्रमणमुक्त भएपछि काममा फर्कन स्वास्थ्यकर्मीलाई आह्वान गरेको छ। अस्पतालका कोभिड फोकल पर्सन डा. प्रविण नेपालले भने, ‘स्वास्थ्यकर्मीको अभाव त भएको छ, तर स्वास्थ्यकर्मी नियुक्त गर्न लामो प्रकृया हुन्छ, त्यसैले थप स्वास्थ्यकर्मी राख्न सकेको छैन। ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि केही न केही काम प्रभावित त भएको छ तर ७ दिनपछि आउने भएकाले तत्काल समस्या छैन।’
नेपालका अनुसार अस्पतालमा ४० वटा भेन्टिलेटर छन्। २०० बेड सञ्चालन गर्ने क्षमता अस्पतालको छ तर स्वास्थ्यकर्मी नै संक्रमित भएपछि हाल १३० बेडमात्र सञ्चालन गरेको छ। हाल अस्पतालमा १२५ जना संक्रमित उपचाररत छन्। उनीहरुमध्ये २० प्रतिशतलाई अक्सिजन चाहिएको छ। ‘ती २० प्रतिशत अक्सिजन चाहिएकाहरुले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका रहेनछन्,’ नेपालले भने। सशस्त्र प्रहरी बल अस्पतालमा लिक्विड अक्सिजन एउटा र दैनिक एक सय सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट छ।
निजामती अस्पताल
निजामती अस्पतालमा सोमबार बिहानसम्मको तथ्यांकअनुसार ४० जना संक्रमित उपचारमा छन्। भर्ना हुनेमध्ये धेरैजसो वृद्धवृद्धा र दिर्घरोगी छन्। उनीहरुमध्ये १२ जना आईसीयू, ७ जना भेन्टिलेटरमा छन्। अस्पतालमा हाल ५० बेड कोरोना संक्रमितको लागि छुट्याइएको छ, कोरोना संक्रमित दिनदिनै थपिँदै गएका छन्। अस्पतालका कोभिड फोकल पर्सन डा. विदेश विष्टले भने, ‘संक्रमित थपिएपछि बेड थप्ने योजना थियो तर अस्पतालका ६० प्रतिशतभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भएपछि बेड थप्न सकिएको छैन। अब दुई दिनमा नै बेड भरिने देखिएको छ, तर स्वास्थ्यकर्मी छैनन्। संक्रमित भएका स्वास्थ्यकर्मीलाई ७ दिनपछि अस्पताल आउन भनेका छौं।’
त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पतालमा सोमबारसम्ममा ११४ जना बिरामी भर्ना भएका छन्। त्यसमध्ये आईसीयूमा तथा भेन्टिलेटरमा ९ जना छन्। त्रिवि शिक्षण अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. रमेशकुमार महर्जनका अनुसार अस्पतालमा अहिले कोभिड संक्रमितका लागि भनेर १३८ वटा बेडमात्र छुट्याइएको छ, तर आवश्यकता अनुसार सात सयसम्म बिरामी धान्न सक्ने अवस्था छ।
अस्पतालमा १५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। शिक्षण अस्पतालले पनि स्वास्थ्यकर्मीलाई संक्रमित भएको ७ दिनपछि काममा फर्कन भनेको छ। त्यसैले सेवा नै रोकिने अवस्था छैन। महर्जनका अनुसार अस्पतालमा भर्ना हुनेहरु धेरैजसो वृद्धवृद्धा र दिर्घरोगी छन्। आईसीयूमा बस्नेलाई बाहेक अन्यलाई अक्सिजनको आवश्यकता छैन। पहिलो र दोस्रो लहरको अनुपातमा तेस्रो लहरमा डराउनुपर्ने अवस्था देखिएको छैन।
पहिलेको अनुभवबाट पाठ सिकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा राखिएको जनाएको छ। यसका लागि पूर्वाधार तथा अक्सिजनको अभाव नहुने मन्त्रालयको दाबी छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यका र देशभरिका अस्पताललाई अक्सिजन, आईसीयू, एचडीयू, भेन्टिलेटर तथा आइसोलेसन तयारी अवस्थामा राखिएको छ।
हाल देशभर आईसीयू २ हजार ७९७, भेन्टिलेटर १ हजार ८, एचडीयू ३ हजार ८४६ उपलब्ध छन्। यस्तै, अक्सिजन सिलिन्डर १३ हजार ९३९ र अक्सिजन कन्सन्टे«टर ६९३ रहेका छन्।
२५ अक्सिजन टयांकमध्ये १९ वटा र १०७ मध्ये ८७ वटा अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेका छन्। उपत्यकामा दुई हजार ४९४ आइसोलेसन शैय्या, ३२४ एचडीयू, ४४५ आईसीयू र २५४ भेन्टिलेटर रहेका छन्। प्रदेश १ मा ११ वटा, मधेश प्रदेशमा ५ वटा, बागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदूरपश्चिम प्रदेशमा पाँच वटा अक्सिजन प्लान्ट स्थापना गरिएको छ।
सरकार चिन्तित छ
डा. समीरकुमार अधिकारी, सहप्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
हाल ओमिक्रोन भेरिएन्टको यस चरणमा अस्पतालमा पनि धेरै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमित भएका छन्। हालसम्म ८८६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। अहिलेसम्म कोभिडको उपचारको लागि त्यति धेरै अभाव त भएको छैन। अहिलेको संक्रमणले त्यति धेरै सिकिस्त नपारेकाले स्वास्थ्यकर्मीहरु संक्रमण भएको ७ दिनपछि अस्पतालमा आएर काम गरेको रिपोर्टिङ भइरहेको छ।
हालसम्म स्वास्थ्यकर्मी संक्रमित भएकै कारण कुनै सेवा रोकिएको जानकारीमा आएको छैन। स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरै स्वास्थ्यकर्मी संक्रमित भएका अस्पतालमा नयाँ स्वास्थ्यकर्मी ल्याउने वा भएकै स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउँदै कसरी सेवा प्रवाह गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ। सबै अस्पतालहरुमा नियमित सम्पर्कमा रहेर मन्त्रालयले काम गरिरहेको छ। देशको सबैतिर एकैखालको अवस्था छैन। ठाउँअनुसार संक्रमणको अवस्था फरक छ। कम संक्रमित भएका ठाउँबाट स्वास्थ्यकर्मी ल्याउने कि कसरी व्यवस्थपन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।
अर्को कुरा धेरै जनसंख्या र धेरै पूर्वाधार भएको ठाउँमा बढी चुनौति भएको अवस्थामा स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्दै सेवा प्रवाह गर्ने भन्ने विषयमा हामी चिन्तित छौं। स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी संक्रमित हुँदै जानु भनेको कोभिड संक्रमितको उपचार, पहिचान, व्यवस्थापनमा माात्रै चुनौति होइन, त्यसले अरु स्वास्थ्य सेवामा पनि चुनौति हुन्छ। त्यसको व्यवस्थापनका लागि हामीले समन्वय गरिरहेका छौं। हालसम्म कतैपनि संक्रमणका कारण सेवा बन्द गरिएको छैन। सबै स्वास्थ्यसेवा नियमित सञ्चालनमा छन्।