काठमाडौं- एम्नेस्टी इन्टरनेसनलले मानव अधिकार रक्षकहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रताजस्ता अधिकारहरूको बारेमा शिक्षित गर्ने उद्देश्यका साथ राइट्स आर्केड नामक मोबाइल गेम एप सार्वजनिक गरेको छ।
अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवसरमा यस वर्ष एम्नेस्टी इन्टरनेसनलले पछिल्लो पुस्ताका मानव अधिकार रक्षकहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रताजस्ता अधिकारहरूका बारेमा शिक्षित गर्ने उद्देश्यका साथ ‘राइट्स आर्केड’ नामक एउटा निःशुल्क मानवअधिकारसम्बन्धी मोबाइल गेम एप सार्वजनिक गरेको हो।
कार्यगत शिक्षामार्फत मानवअधिकार अभियानलाई सुदृढ गर्नका लागि एप विकास गरिएको एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले जानकारी दिए। उनले एपमा भएका गेमहरूले प्रयोगकर्ताको मानवअधिकारसम्बन्धी ज्ञानलाई बढाउने र उनीहरूलाई मानवअधिकारका सवालमा ‘एक्सन’ लिनका लागि प्रोत्साहित गर्ने बताए।
उक्त एपको प्रमुख विशेषता भनेको यसको स्वनियन्त्रित पद्धति हो जसले प्रयोगकर्ताहरूलाई गेममा भएको कथाहरूमार्फत आफ्नै गतिमा मानवअधिकारबारे सिक्ने, समीक्षा गर्ने र अभियानात्मक गतिविधिहरू सञ्चालन गर्ने वा त्यसमा सहभागी हुने अवसर प्रदान गर्दछ।
विश्वभरका मानिसहरूले हाल चार भाषाहरू अङ्ग्रेजी, सरलीकृत चिनियाँ, थाई र कोरियनमा ती गेमहरूको सङ्ग्रह प्रयोग गर्न सकिने उल्लेख छ। आउने महिना र वर्षहरूमा नयाँ गेमहरूसँगै राइट्स आर्केडलाई नियमितरूपमा थप भाषाहरूमा सिक्न सकिने बनाउनका लागि समायोजन र अद्यावधिक गरिने बताइएको छ।