काठमाडौं- सरकारले माघ ७ गतेदेखि कोरोनाविरुद्ध खोप नलगाएकालाई सार्वजनिक सेवाबाट बञ्चित गर्ने निर्णय गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसमा सरकारले यस्तो निर्णय कार्यान्वयनमा ल्याएको हो। सार्वजनिक सेवा मात्र होइन, होटल, रेस्टुरेन्ट र सपिङ मल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोपकार्ड साथमा हुनुपर्ने निर्णय गरेको छ।
खोप कार्डको अनिवार्यतासँगै खोप केन्द्रहरूमा भिड बढेको छ। खोप केन्द्रमा खोप लगाउनका लागि जानेको संख्या मात्र छैन, खोप लगाइसकेकाहरू पनि पुग्ने गरेका छन्। कार्ड अनिवार्य गरिएपछि खोप कार्ड बनाउन खोप लगाइसकेकाहरू पुग्ने गरेका हुन्।
नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको करिब एक वर्ष पुगिसकेको छ। यसअघि विदेश यात्रामा मात्र अनिवार्य खोपकार्ड सार्वजनिक सेवासम्मै अनिवार्य भएपछि खोप कार्ड नभएकाहरूलाई सास्ती पर्न थालेको छ। विदेश यात्रा गर्नेबाहेकका लागि लामो समय खोपकार्ड प्रयोगमा नआउँदा खोप लगाएकाहरूमध्ये पनि धेरैको खोपकार्ड हरायो।
सरकारले खोपकार्ड अनिवार्य गरेपछि खोप लगाएका तर कार्ड हराएकाहरू समस्यामा परेका हुन्। खोपकार्डको प्रतिलिपि खोज्दै दैनिक रूपमा स्वास्थ्य कार्यालयसम्म पुग्नेको संख्या बढ्दो छ। खोप कार्ड हराउनेहरूले खोप लगाएको ठाउँमा गएर प्रतिलिपि बनाउनभन्दा पुनः खोप लगाएर पहिलो डोज खोप लगाएको कार्ड बनाउन थालेका छन्।
विवरण व्यवस्थापन भद्रगोल
सबै नागरिकलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि गरिएको व्यवस्था खोपकार्डको झन्झटका कारण खोप लगाएकाहरू नै खोप नलगाएका व्यक्तिहरू बनिरहेको देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै उच्च तहका कर्मचारीहरू स्वीकार गर्छन्। हराएको खोपकार्ड निकाल्नभन्दा पहिलो मात्राको खोप लगाउन सहज भएपछि यस्तो हुन पुगेको उनको भनाइ छ।
'हराएको कार्ड बनाउनुभन्दा हालसम्म खोप नै नलगाएको भन्दै लगाउने गरेको सुनिएको छ,' एक स्वास्थ्य अधिकारीले भने, ‘खोपकार्ड बनाउने झन्झटमा पर्नुभन्दा पहिलो डोज खोप लगाएर नयाँ कार्ड लिन सहज मान्छन्।’ कार्ड बनाउनका लागि स्वास्थ्य कार्यालय पुग्ने सेवाग्राहीहरू आफूले खोप लगाएको मितिबारे जानकार नहुँदा समस्या थपिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्ले स्वीकार गर्छन्।
‘केही खोपकेन्द्रले हामीलाई खोप लगाएको फाइल पठाएका छन्। कतिपयले पठाउन बाँकी छ। जसले गर्दा कार्ड बनाउन आएका सबै मानिसलाई हामीले खोपकार्ड उपलब्ध गराउन सकेको छैन,' काफ्लेले थपे, 'अहिले कार्यालयका कर्मचारी पनि कोरोना संक्रमित भएकाले सबैको विवरण खोज्न पनि सकिएको छैन। खोप लगाएको मिति थाहा हुनेहरुलाई कार्यालयमा आएको फाइलमा आफ्नो विवरण आफैँ हेर्न भनेका छौँ। पत्ता लागेमा खोपकार्ड बनाइदिएका छौं। पत्ता नलागेमा हामीले केही गर्न सक्ने अवस्था छैन।’
काफ्लेका अनुसार हाल दैनिक दुई दर्जनभन्दा बढी मानिस खोपकार्ड बनाउनको लागि काठमाडौं कार्यालय पुग्ने गरेका छन्। तर उनीहरुमध्ये एक प्रतिशतको मात्रै खोपकार्ड बनाउन सकिएको छ। सरकारले खोपकार्ड हराएकालाई कसरी व्यवस्थापन गर्ने भनी नसोची निर्णय गर्दा समस्या देखिएको काफ्लेको स्वीकारोक्ति छ।
'खोप लगाएकाहरूको विवरण कार्यालयमा प्राप्त नभएकाले पनि समस्या भएको हो। खोपकेन्द्रले त्यो विवरण स्वास्थ्य कार्यालय पठाइदिनुपर्ने हो। तर ती थुप्रै फाइल यहाँसम्म आइपुगेकै छैनन्। कुन खोप लगाइयो? कति ब्याचको लगाइयो भनेर पत्ता लगाउनुपर्छ, त्यो हुन सकेको छैन,' उनले थपे, 'खोपकार्ड व्यवस्थापनको समस्या छ। यसबारे सरकारले चाँडै केही निर्णय गरी सहजीकरण गर्ला।'
खोप कार्ड हराउनेहरूले खोप लगाएको ठाउँमा गएर प्रतिलिपि बनाउनभन्दा पुनः खोप लगाएर पहिलो डोज खोप लगाएको कार्ड बनाउन थालेका छन्।
कार्यालयमा विवरण नै नभएको एउटा समस्या त छँदैछ। त्यहीमाथि कार्यालयका कर्मचारी आफैँ पनि कोरोना संक्रमित भएर बिदामा बसेका छन्। 'खोप कार्ड हराएर कार्यालय पुग्ने सेवाग्राहीलाई नै विवरण पत्ता लगाएर ल्याउन भन्ने गरेका छौँ। कतिपयले विवरण राम्रोसँग हेर्न सक्नुहुन्न। खोप लगाएको मिति नभए त झनै समस्या हुने गरेको छ। कर्मचारी अभावका कारण पनि व्यवस्थापन गर्न कठिन छ,' काफ्लेले उल्लेख गरे।
फेरि खोप लगाउने काम नगर्नुहोला : विभाग
पुरानो खोप कार्डको विवरण पत्ता लगाउएर प्रतिलिपि लिनुभन्दा पुनः खोप लगाउन सहज भएपछि सेवाग्राही भने खोप लगाउनतर्फ लागेपछि स्वास्थ्य सेवा विभागले भने त्यसो नगर्न अनुरोध गरेको छ। विभागका खोप शाखा प्रमुख सागर दाहालले प्रतिलिपि लिन तर खोप नै नलगाएको भन्दै दुई डोज लगाइसकेर तेस्रो डोजलाई 'पहिलो डोज' नबनाउन आग्रह गरे। ‘खोप कार्ड हराएमा जहाँ खोप लगाएको हो त्यही खोप केन्द्रबाट प्रतिलिपि लिन सकिन्छ। कार्डको लागि फेरि खोप लगाउने काम नगर्नुहोला,’ दाहाल भन्छन्।
दाहालले सार्वजनिक सेवा लिनको लागि खोप लगाएको कार्डको फोटो खिचेको भए उक्त फोटो देखाएर पनि सार्वजनिक स्थानमा जान सकिने बताए।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्त समिर अधिकारी भने खोपकार्ड हराउनु नै गल्ती भएको बताउँछन्। ‘खोपकार्ड हराउनै भएन, खोपकार्ड हराउनु नै गल्ती हो,' उनले भने।
पुरानो कार्डको प्रतिलिपी बनाउन भन्दा खोप नै लगाउन सहज भएपछि पहिले लगाइसकेकाहरू पनि पहिलो डोज भन्दै खोप लगाउनेको संख्या बढेपछि सरकारले भेरोसेल खोप लगाउन नै छोडेको छ।
खोप कार्ड हराए के गर्ने?
लगाएको मिति जानकारी भए खोपकार्डको प्रतिलिपि बनाउन सहज हुन्छ। तर खोपकार्ड हराएर खोप लगाएको मिति जानकारी हुने अवस्था कम छ।
'कुन जिल्लामा कतिले खोप लगाए भन्ने हरेक जिल्लामा रकर्ड राखिएको हुन्छ। खोप कार्ड हराएको सन्दर्भमा नागरिकहरुले आफूले खोप लगाएको केन्द्रमा सम्पर्क गर्नुपर्छ,' मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले भने, 'केन्द्रले फाइल जिल्ला स्वास्थ्य कार्यालयमा नपठाएको सन्दर्भमा केन्द्रबाट नै प्रतिलिपि कार्ड बनाउन सकिन्छ। केन्द्रले फाइल जिल्लामा पठाइसकेको खण्डमा जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गरी कार्ड बनाउन सकिन्छ।'
अनिवार्य खोपकार्ड हास्यास्पद : एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयको विरोध गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयलाई निर्णयलाई हास्यास्पद र विभेदकारी भनेको छ।
‘वर्तमान सरकारले पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेकोमा हालसम्म यो संख्या ४० प्रतिशत मात्र पुगेको छ,’ एमाले अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अघिल्लो सरकारले व्यवस्था गरिदिएका खोपको आपूर्ति, व्यवस्थापन, भण्डारण र वितरण पनि राम्ररी गर्न असक्षम वर्तमान सरकारले तुलनात्मक रुपमा सहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रामा खोप लगाउन नसकिरहेको बेला सार्वजनिक सेवा उपयोगका लागि खोप कार्ड अनिवार्य भनेर हास्यास्पद र विभेदकारी कदम चालेको छ।’
एमालेले फ्रान्टलाइनर राष्ट्रसेवकलाई जोखिम भत्ता उपलब्ध गराउन नसकेको भन्दै सकारको आलोचनासमेत गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीका नाममा गरेको सम्बोधनमा १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १६४ खोप लगाउनयोग्य नेपालीमध्येमा ५९.६ प्रतिशतलाई पूर्ण मात्राको खोप उपलब्ध गराइएको उल्लेख गरेका थिए। यीमध्ये पहिलो डोजको खोप लगाउनेको संख्या ७८.३ प्रतिशत छ। १२ देखि १७ वर्ष उमेरका किशोर किशोरीहरू १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको उनको सम्बोधनमा उल्लेख छ।