बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी र मधेस प्रदेशका मुख्यमन्त्रीसहित १२ जिल्लाका प्रजिअलाई गृहमन्त्रीको टेलिफोन

लुम्बिनी र मधेस प्रदेशका मुख्यमन्त्रीसहित १२ जिल्लाका प्रजिअलाई गृहमन्त्रीको टेलिफोन

गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन्।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन्।

गृहमन्त्री खाणले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्लाहरू कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्।

उनले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सितलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिएका छन्। 

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाणले बोर्डरमा एन्टीजेन्ट परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र सितलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास र आगामी योजनाबारे जानकारी लिएको बताए। 

‘मुख्यगरी गृहमन्त्रीज्यूले सीमा नाकामा स्वास्थ्य सेवा केन्द्रले गरिरहेको काम, एन्टीजेन्ट परीक्षण, होल्डिङ सेन्टरको अवस्था र सितलहरबाट नागरिकलाई बचाउन भइरहेका प्रयासबारे जानकारी लिनुभयो,’ प्रजिअ कटवालले भने, ‘सीमा नाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा सित लहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न निर्देशन दिए।’

गृहमन्त्री खाणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्‍याउने व्यवस्थाबारे पनि चासो राखेका थिए।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्‍याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाणले जानकारी लिएको बताए। ‘घरमै आइसोलेसनमा बस्न चाहने संक्रमितलाई घरसम्म पुर्‍याउन गरिएको व्यवस्थाबारे जानकारी लिए। उनले संक्रमितलाई सहज रूपले घरसम्म पुर्‍याउने व्यवस्था गर्न, होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याउन एन्टीजेन्ट परीक्षण बढाउन र पोजेटिभ देखिएका तर भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन दिनुभयो,’ प्रजिअ दाहालले भने। 

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणबारे गृहमन्त्रीले टेलिफोनमार्फत जानकारी लिएको बताए।

प्रकाशित: Jan 23, 2022| 12:26 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...