काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशमा भएका प्रावधानलाई हुबहु नयाँ विधेयकमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
सरकारले सो अध्यादेशका प्रावधानलाई तोडमोड गरी यदि सरकारले जबर्जस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नु पर्ने चेतावनी दिएको कांग्रेसले जनाएको छ।
डा. गोविन्द केसीको स्वास्थ्यस्थिति थप गम्भीर बन्दै गएको विषयमा सभापति देउवाले ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेरै ध्यानाकर्षण गराएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
ओलीलार्इ भेटेर देउवाले भनेको कुरा उदृत गर्दै पौडेलले भने, 'तपार्इँ सच्चिनुस्, नत्र परिणाम गम्भीर हुन्छ।'
भेटमा देउवाले केसीसँग तत्कालै वार्ता गरेर माग पूरा गरी उनको जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेकोबारे प्रधानमन्त्रीलाई सचेत गराएका थिए।
सभापति देउवाले आफ्नो नेतृत्वमा रहेको अघिल्लो सरकारले डा केसीको मागलाई सुनुवाई गरेर उच्चस्तरीय केदारभक्त माथेमा आयोगको प्रतिवेदनको आधारमा जनभावनाअनुरूप अध्यादेश जारी गरेको दाबी गरेका थिए।
सरकारले अधिनायकवादलार्इ प्रोत्साहन गर्ने खालका व्यवहार र गतिविधिहरू देखाउन थालेको बताउँदै यसलार्इ नसच्याए सरकारले गम्भीर परिणाम भोग्नुपर्ने देउवाले चेतावनी दिएको जनाइएको छ। सरकारले नागरिक स्वतन्त्रता र मिडियालार्इ पनि तानाशाही ढंगले चलाउन खोजेकाले सरकारको यस्तो कदमले नेपाली जनताको बलिदानी र संघर्षपूर्ण आन्दोलनको ओचित्य नै समाप्त पार्न खोजेकोप्रति सचेत गराएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४