काठमाडौं- नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो। त्यस्तै, बैठकमा बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय भएको पनि नेकपा (माओवादी केन्द्र) नेता कृष्णबहादुर महराले बताए।
उनले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताए।
बैठकमा तीन वटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको र अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीविहरुको रायअनुसार कानुनविद्हरुसँग छलफल गरेर निस्कर्षमा पुग्ने महराले जानकारी दिए।