काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्नु प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्।
मन्त्री यादवले हिंसा भड्काउने पदिय मर्यादा विपरीत अभिव्यक्ति दिएको बताउँदै उनले प्रधानमन्त्री देउवालाई पदमुक्त गर्न सुझाव दिएका हुन्।
रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिको यतिबेला चर्को आलोचना भइरहेको छ।
शर्माले तीन वटा सुझाव दिँदै यादवलाई राजीनामा दिन आग्रहसमेत गरेका छन्। शर्माले ट्वीटमा लेखेका छन्, ‘स्वयं व्यक्तिद्वारा भूल स्वीकार र क्षमा याचना वा सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा वा पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्छ।’
शर्माले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढि जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्। उनले भनेका छन्, ‘हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न, विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न।’