काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ।
स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शनिबार बिहान ९:३० मा बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सहभागी नहुने भएको हो।
एमाले उपमहासचिव विष्णु रिमालले सर्वदलीय बैंठकबारे आफूहरूलाई औपचारिक जानकारी नै नभएको बताएका छन्। मिडियामा सर्वदलीय बैठकको समाचार बढेको भए पनि एमालेलाई औपचारिक जानकारी नभएको उनले बताए।
यसअघिसमेत प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी भएको थिएन। पुस ४ गतेको सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी ओलीसँग बालकोट पुगेर भेट गरेका थिए।
शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।