काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने भएको छ।सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने सहमति गरेको हो।
स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर स्थानीय तहको निर्वाचन गराउने भन्ने विषयमा द्विविधा देखिएकाले त्यसको निक्र्यौंल गरेर अघि बढन निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गरेर अघि बढने सहमति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्नेबारे छलफल भयो । संविधान र कानुनमा केही द्विविधा रहेको, त्यो द्विविधालाई कसरी हटाउने भन्नेबारे छलफल भयो। स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन निर्वाचनलाई सुरु मिति मानेर पाँच वर्ष पूरा भएको भन्ने अन्यौल रहेको छ,' उनले भने, 'त्यस सम्बन्धमा सत्तारुढ गठबन्धनले संविधानविद् र निर्वाचन आयोगसँग छलफल गर्ने समझदारी बनेको छ। निर्वाचनलाई मितव्ययी बनाउन तीन तहको निर्वाचन एकैपटक गर्ने कि भन्ने बारे पनि छलफलमा विषय उठेको छ।’
बैठकमा आर्थिक रुपमा मितव्ययी हुने भन्दै तीन वटै तहको निर्वाचन एकैपटक गर्ने भन्ने विषयलाई प्रवेश गराइएको थियो। तर त्यस विषयमा विस्तृत छलफल भने नभएको मन्त्री कार्कीको भनाइ छ।
सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुमा संसदको निर्वाचन सकेर मात्रै स्थानीय निर्वाचन गर्न प्रस्ताव अघि सारेपछि राजनीतिक वृत्तमा तरंग फैलिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने स्थानीय तहको निर्वाचनपछि मात्र प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने बताएको छ।