काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैतसम्ममा खोप लगाउन योग्य बसैलाई निशुल्क खोप वितरण गर्ने आफ्नो प्रतिबद्धता स्मरण गरेका छन्। शुक्रबार राष्ट्रबासीमा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो प्रतिबद्धता स्मरण गर्दै यसमा आफू अडिग रहेको उल्लेख गरेका हुन्।
'चैतसम्ममा मैले खोप लगाउनयोग्य सबैलाई निशुल्क खोप लगाइसक्ने बताएको थिए,' प्रधानमन्त्री देउवाले भने, 'त्यसका लागि अहिले खोप अभियान जारी छ। हालसम्म लक्षित उमेरसमूहका ५९.६ प्रतिशत नागरिकलाई खोप दिइएको छ।'
प्रम देउवाले हालसम्म ४ करोडभन्दा बढी डोज खोप प्राप्त भएको उल्लेख गरेका थिए। यस्तै २ करोड ७५ लाख डोज लगाइसकिएको र १ करोड १८ लाख ६९ हजारलाई पूर्ण मात्रामा खोप दिइएको भनाइ छ।
यस्तै ६० वर्षमाथिका व्यक्तिका लागि यसै महिनादेखि बुस्टर डोज दिइने उनले घोषणा गरे। यसका साथै ५-१२ वर्ष उमेर समूहका लागि खोप अभियान छिटै सुरु गरिने उनको भनाइ छ।
भ्याक्सिन र अक्सिजन उत्पादन गर्नेलाई वित्तीय सहुलियत दिइएको र अस्पतालमा पूर्वाधार सुधार गरिएको उनले उल्लेख गरे।