काठमाडौं- बृहत नागरिक आन्दोलनले निर्वाचनलाई राजनीतिक छलछामको विषय नबनाउन माग गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनले यस्तो माग गरेको हो।
'निर्वाचनलाई कुनै पनि राजनीतिक छलछामको विषय नबनाउन प्रस्ट शब्दमा सावधान गराउँदछौँ,' आन्दोलनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस्तै नेकपा एमालेलाई पनि जिम्मेवार भएर संसदमा प्रस्तुत हुनसमेत आन्दोलनले चेतावनी दिएको छ।
'संसद्लाई आफ्ना प्रतिगामी कदमको बन्धक बनाउँदै आएका विपक्षी दललाई पनि हामी चेताउन चाहन्छौँ- संसद्लाई स्वस्थ बहस गर्ने र जनताको आवाज पोखिने ठाउँ बनाउन रोकियो भने अलोकतन्त्रीकरण तीव्र हुनेछ,' आन्दोलनको भनाइ छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा गर्नुपर्ने स्थानीय तहको निर्वाचन सारेर मंसिरमा गर्ने र मंसिरमा गर्नुपर्ने संघीय प्रतिनिधि सभाको निर्वाचन वैशाखमा गर्न प्रस्ताव गरेपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।
प्रचण्डको प्रस्ताव तर्फ संकेत गर्दै नागरिक आन्दोलनले समयअघि नै प्रतिनिधि सभाको निर्वाचन गरिए केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेजस्तै हुने भन्दै राजनीतिक दललाई त्यसतर्फ सचेत गराएको हो।