काठमाडौं- निर्वाचन आयोगले वैशाखमा पालिकाको चुनाव मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ। वैशाखमा चुनावका लागि माघ पहिलो हप्ता अर्थात् आजसम्म मिति घोषणा भइसक्नु पर्ने हो। तर, पालिकाको चुनाव वैशाखमा गर्ने कि सार्ने भन्ने विषयमा सरकार अलमलमा हुँदा समस्या सिर्जना भइरहेको छ।
यही विषयमा सत्तारुढ गठबन्धनले छलफलसमेत अगाडि बढाएको छ। पहिले संघीय चुनाव गर्नुपर्ने प्रस्ताव आएपछि सत्ता साझेदार दलहरूले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएका छन्।
यस विषयमा थप छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज पनि बोलाइएको छ। पछिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिकाको चुनाव सारेर पहिले संघीय चुनाव गर्नुपर्ने प्रस्ताव गरेका छन्। तर, सत्तारुढ दल र कांग्रेसभित्र यस विषयमा सहमति जुटेको छैन।
वैशाख या जेठको पहिलो हप्ताभित्र पालिकाको चुनाव गर्ने गरी मिति घोषणा गर्न ढिलाइ भइरहँदा सरकार अझै अलमलमा देखिँदा निर्वाचन आयोग के गर्ने भन्ने विषयमा अलमलमा रहेको बताइएको छ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार पनि छलफल भएको थियो। तेस्रो विकल्पका रूपमा तीनवटै चुनाव एकै पटक गर्ने विषयमा समेत छलफल भएको उनीहरूबीच छलफल भएको छ।
सत्तारुढ गठबन्धनमा वैशाखमा पालिकाको चुनाव गर्ने, वैशाखमै संसद्को चुनाव गर्ने कि तीनवटै तहको चुनाव वैशाख या मंसिरमा गर्ने भन्ने विकल्पमा छलफल भइरहेको हो। वैशाखमा संघीय संसद्को चुनावमा जाँदा प्रतिनिधि सभा विघटन गर्नुपर्ने र यो फेरि अदालती विषय बन्न सक्ने भएकाले गठबन्धनका नेताहरूले निर्णय गर्न सकेका छैनन्।
माधव नेपालको धारणा भने वैशाखमा संघीय चुनाव गर्नु उपयुक्त धारणा रहेको छ। तर, वैशाखमा गर्नुपर्ने पालिकाको चुनाव पछि धकेल्दा गलत राजनीतिक सन्देश जाने भन्दै प्रधानमन्त्री देउवा कुनै निर्माण पुग्न नसकेको बताइएको छ।