काठमाडौं- राजधानीस्थित केशर पुस्तकालयबाट पुरातात्त्विक महत्त्वका सामग्री चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले बुधबार उनीहरू दुवै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-३ घर भई काठमाडौंको बसुन्धरा बस्दै आएका १८ वर्षीय सुमन शर्मा र जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ घर भई काठमाडौं केशरमहल बस्दै आएका ३६ वर्षीय वीरबहादुर सुनार छन्।
२०७२ सालको बिनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलीकरणको कार्य भइरहेको केशरमहलभित्र रहेको केशर पुस्तकालय परिसरबाट उनीहरूले पुरातात्विक महत्त्वका सामग्री चोरी गरेको आरोप उनीहरूमाथि लागेको छ।
उनीहरूले बाघको टाउकोको नम्बर २६, केशर समसेरको पोसाक लुगा सेटमध्येको तरवार थान २ (नम्बर ३४ र ३५) चोरी भएको प्रहरीको भनाइ छ।
केशरमहलमा बोरामा पोको पारी फालेको अवस्थामा रातो कलेजी रङको दाप भएको लम्बाई ९३ से.मी. र चौडाई ३ से.मी. भएको सेतो कालो रङको धातुको बिड भएको तरवार थान १ प्रहरीले केशरमहल परिसरबाट बरामद गरेको छ। यस्तै लम्बाई ९८ से.मी. र चौडाई ४ से.मी. भएको सेतो हड्डीको जस्तो बिड भएको तरवार थान १ समेत बरामद भएको प्रहरीले बताएको छ।
यसैगरी टुप्पोदेखी गर्धनसम्मको लम्बाई ३८ से.मी. भएको गोलाई ६७ से.मी. भएको तौल गर्दा ३ केजी तौल भएको बाघको टाउको थान १ प्रहरीले बरामद गरेको छ। यस्तै प्रहरीले चोरी कार्यमा प्रयोग भएको होन्डा स्कुटरसमेत बरामद गरेको बताएको छ।
चोरीमा गणेश श्रीपाली भन्ने गणेश विश्वकर्मा, दीपेन्द्र भन्ने देबेन्द्र केसीसमेतको संलग्नता रहेको देखिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार पक्राउ परेका सुमनले ८-१० दिन अगाडि नै आफूले ती सामग्री केशरमहलको कम्पाउन्डमा छोडेको स्वीकार गरेका छन्।
उनीहरूलाई अनुसन्धान र कानुनी प्रकृयाको लागि महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पठाइएको महाशाखाले जानकारी दिएको छ।