काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको सर्वत्र विरोध भएको छ। मन्त्री यादवले मधेशमा बुधबार मनाइएको ‘बलिदानी दिवस’ का अवसरमा रौतहट सदरमुकाम गौरमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतमाथि लक्षित गर्दै हिंसात्मक अभिव्यक्ति दिएकी थिइन्। गौरमा मन्त्री यादवलाई जनमत पार्टीका कार्यकर्ताले लखेटेका थिए। त्यसपछि कार्यक्रममा सम्बोधन गरेकी यादवले गौर नरसंहारको प्रसंग निकाल्दै सीके राउतमाथि ज्यान मार्ने धम्की दिएकी थिइन्।
वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादव पदमा एकछिन पनि बस्न योग्य नरहेको बताए। उनले भने, ‘सार्वजनिक ठाउँमा हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई प्रधानमन्त्रीले पदबाटै बर्खास्त गर्नुपर्छ।’ पार्टी जिम्मेवार हो भने उसले पनि मन्त्री यादवमाथि कारबाही गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘यादव मन्त्री भएर एकछिन पनि बस्न योग्य छैनन्। मन्त्रीले नै हिंसात्मक अभिव्यक्ति दिएपछि सर्वसाधारण नागरिकले के सिक्छन्?’
सामान्य नागरिकले पनि कुनै व्यक्तिलाई लक्षित गरी हिंसात्मक अभिव्यक्ति दिन नपाइने अवस्थामा मन्त्रीले यस्तो कुरा गर्नु नालायकीपन चरित्र रहेको प्रसाई बताउँछन्। उनले भने, ‘सार्वजनिक रूपमा हिंसात्मक अभिव्यक्ति दिएर मन्त्री यादवले आफूलाई नागरिक भएको बोध नै गरेको देखिएन। न उनलाई सांसद भएको थाहा छ, न मन्त्री भएरै पदको गरिमा राख्नुपर्छ भन्ने हेक्का छ। यो त मन्त्री यादवको नालायकीपन हो।’
प्रसाईले नालायक व्यक्तिलाई मन्त्री बनाएर देशमा सुशासन कायम हुन नसक्ने बताए। उनले भने, ‘म के हुँ, के बोल्नुुहुन्छ, के बोल्नु हुँदैन, त्यसले कस्तो असर पार्छ भन्ने थाहा नहुने मन्त्री पदमा बस्न योग्य छैनन्।’
गौर नरसंहार ताजै रहेको उल्लेख गर्दै उनले भनेकी थिइन्, 'इतिहासमा राइस मिल अझै जीवित छ। रौतहट ऐतिहासिक जिल्ला हो। गौरमा फट्टा (चिर्पट) देखाउने प्रयास नगर। तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो। म डाक्टर साबलाई आग्रह गर्छु - तपाईं पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्, चिरफार नगर्नुहोस्। चिरफार गर्न खोज्नु भए फेरि तपाईंलाई घेराबन्दी गरेर मारिनेछ।’
मन्त्रीको अभिव्यक्ति निन्दनीय : महासचिव सिंह
जनमत पार्टीका महासचिव चन्दन सिंहले राज्यका मन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सुन्दा आश्चर्यमा परेको बताए। उनले प्रश्न गरे, ‘राज्यले यस्ता व्यक्तिलाई कसरी मन्त्री बनाएर राखेको छ? हामी आश्चर्यमा परेका छौँ। अपवित्र गठबन्धन सरकारका मन्त्रीको अपवित्र अभिव्यक्ति हो।’ मन्त्रीको विरोध गर्नु, आफ्ना माग अघि सार्नु र कालो झन्डा देखाउनु सामान्य भएको बताउँदै सिंहले भने, 'किसानहरू आन्दोलनमा छन्। तपाईंले क्याबिनेटबाट निर्णय लिनुस्, नत्र कालो झन्डा देखाउँछौं। यहाँ किसान मर्कामा छन् भन्न त पाइन्छ नि हैन?’
२०६३ चैत ७ गते गौर नगरपालिकास्थित राइस मिलमा तत्कालीन माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीच झडप भएको थियो।
केही समयअघि जनमतका कार्यकर्ताको अराजक गतिविधिका कारण सर्वत्र विरोध भएको थियो। यद्यपि महासचिव सिंहले आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्दै आएको बताए। उनले भने, ‘मधेसका जिल्ला सदरमुकाममा हजारौं नागरिक आन्दोलित छन्। तर मन्त्री गैरजिम्मेवार भएर प्रस्तुत भएकी छन्। मैले भैंसीको दूध खाएको छु, तिमीहरू घाँसपात खान्छौ जस्ता गालीगलौज गरेर समाज परिवर्तन गर्न चाहनेलाई होच्याउने काम भएको छ।’
१५ वर्षअघिको गौर घटना
२०६३ चैत ७ गते गौर नगरपालिकास्थित राइस मिलमा तत्कालीन माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीच झडप भएको थियो। झडपमा २७ वाईसीएल कार्यकर्ताको मृत्यु भयो भने ५३ जना गम्भीर घाइते भएका थिए।
घटनापछि माओवादीको तत्कालीन जनसरकारको नामबाट फोरम र कांग्रेसका १ सय २७ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी ल्याएको थियो तर तत्कालीन एसपी रामकुमार खनालले हुँदै नभएका मानिसको नाम समावेश गरिएको भन्दै जाहेरी दर्ता गरेनन्। पछि जाहेरीमा अभियुक्तको सूची कटौती गरेर १ सय १३ जनाको नाममा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भयो, जसमा उपेन्द्र यादवदेखि बबन सिंहसम्म थिए। ती सबैलाई प्रहरीले फरार अभियुक्त भनी मिसिलमा चढायो तर खोजखबर गरेन।
उपेन्द्र यादव त्यसपछि चुनाव जितेर उपप्रधानमन्त्रीसमेत पनि भए। बबन सिंह पहिलो संविधानसभामा निर्वाचित भए। अरू पनि थुप्रै ‘फरार अभियुक्तहरू’ अहिले महत्त्वपूर्ण सार्वजनिक पदमा छन्।