काठमाडौं-चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै जुम्लामा आमरण अनसनमा बसिरहेका डा गोविन्द केसी पक्ष र सरकारी प्रतिनिधीबीच दोस्रो चरणको वार्ता शुरु भएको छ ।
सोमबारको वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि मंगलबार दुवै पक्ष पुनः वार्तामा जुटेका हुन् ।
आजको वार्तामा जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई उपचारका लागि काठमाडौं ल्याउने विषयमा वार्ता केन्द्रित हुनेछ ।
केसी पक्षधरको वार्ता टोलीमा आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्र्टस एशोसिएशनका प्रतिनिधि सहभागी नभएकोले आजको वार्तामा यो संस्थाका प्रतिनिधिलाई पनि वार्ता टोलीमा सहभागी गराउन डाक्टर केसीले आग्रह गर्ने एशासिएशनका अध्यक्ष डाक्टर सुमित पाण्डेले नेपाल समयलाई जानकारी दिए ।
संसदमा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता गराएपछि मात्रै अन्य विषयवस्तुमा प्रवेश गर्ने केसी पक्षको अडानका कारण वार्ता निष्कर्षमा पुग्न सकेको छैन । केसी पक्षले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ताको माग गरेको छ।
डाक्टर केसीको माग सम्बोधन गर्न सोमबारको मन्त्रिपरिषद बैठकले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४