मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौतमबुद्ध विमानस्थलको विस्तार धमाधम, अब कहिले सकिएला ?

गौतमबुद्ध विमानस्थलको विस्तार धमाधम, अब कहिले सकिएला ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ५० प्रतिशत देखिएको छ । निर्माणको मुख्य ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप लिमिटेडले चार महिनायता कामलाई तीव्रता दिएको छ । 

आयोजनाको परामर्शदाता युसिन कोरियन कन्सल्ट्यान्ट र नागरिक उड्डयन प्राधिकरणले गरेको मूल्यांकनमा निर्माणको प्रगति देखिएको हो । 'बीचमा केही समस्या भए पनि अहिले कामको गति राम्रो छ । चिनियाँ कम्पनीले म्यानेजर परिवर्तन गरेसँगै रातदिन काम भइरहेको छ,' आयोजना प्रमुख ओम शर्माले भने । 

शर्माका अनुसार सबै मूल्यांकन गर्दा भौतिक ५० र आर्थिक प्रगति ३३ प्रतिशत भएको छ । आगामी फागुन मसान्तसम्ममा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न हुने उनको दाबी छ । 

उनका अनुसार धावनमार्गको बेस कोर्सको काम सम्पन्न भएको छ । टर्मिनल भवनको आगमनतर्फको भागमा अन्तिम तलाको ढलाइ सकिएर फिनिसिङ हुँदैछ । प्रस्थानतर्फको अन्तिम तलाको ढलाइ हुँदैछ । प्रशासकीय भवन निर्माण सकिएको छ । कन्ट्रोल टावरको आठमध्ये पाँच तलासम्म काम सकिएको छ । पार्किङ स्थलको दुई तिहाइ काम सकिएको छ । नाला र 'ट्याक्सी वे' निर्माणाधीन छन् ।

आयोजनाका अनुसार बाँकी ५० प्रतिशत काममध्ये आधा विद्युतीय र आधा सिभिलको छ । कुल ६ अर्ब २२ करोड ५१ लाख ३० हजार रुपैयाँमा चिनियाँ कम्पनीले ठेक्का पाएको छ । सेप्टेम्बर २०१९ मा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्ने सरकारी लक्ष्य छ । 

उक्त विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कामको शिलान्यास १ माघ ०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र क्षमताले धान्न नसकेपछि सरकारले विकल्पका रूपमा भैरहवाको स्तरोन्नती थालेको थियो । 

१६ पुस ०७१ मा कार्यादेश पाई १९ जेठ ०७४ मा निर्माण सम्पन्न गर्ने गरी टेन्डर आव्हान गरिएको थियो । १ माघ ०७१ देखि काम शुरु भएको थियो । निर्धारित समयमा निर्माण नसकिएपछि १७ पुस ०७४ सम्म म्याद थपिएको थियो । दोस्रो पटक १३ असार ०७६ सम्मका लागि समय बढाइएको थियो । 

हालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०११ सालमा डा. केआई सिंह र काशिप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो । शुरुमा भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल ०२०/२१ सालताका हालको ठाउँमा स्थानान्तरण भएको स्थानीय बालकृष्ण भट्टराईले बताए । 

करिब १० बिघामा रहेको शान्तिनगरस्थित विमानस्थलबाट भैरहवा-पोखरा र भैरहवा-काठमाडौं उडान हुने गथ्र्यो । हालको स्थानमा स्थानान्तरण भएपछि शान्तिनगरमा भैरहवा बहुमुखी क्याम्पस, संस्कृत विद्याश्रम र संघीय प्रहरी एकाइ लुम्बिनीका कार्यालय स्थापना भएका हुन् । शान्तिनगरस्थित विमानस्थलमा पोखराका लागि निर्माण सामग्री बोकेर उड्दै गरेको डकोटा विमान दुर्घटनामा परेको थियो । त्यो नेपालको उड्डयन इतिहासको पहिलो दुर्घटना थियो । 

२०२३ सालदेखि नियमित उडान हुँदै आएको भैरहवा विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । ०६१ साल अघिसम्म ८४ बिघा तीन कठ्ठा रहेकामा ०६३ सालमा दुई सय १३ बिघा चार कठ्ठा १५ दशमलव ७५ धुर थप भएको थियो । हाल थप पाँच सय बिघाको मुआब्जा वितरण भइरहेको छ । 

सबै जग्गा विमानस्थलको स्वामित्वमा आएपछि यसको क्षेत्रफल सात सय ८७ बिघा सात कठ्ठा १५ दशमलव ७५ धुर हुनेछ । हालसम्म पोखरामा तीन हजार सात सय रोपनी र काठमाडौंमा सात हजार रोपनी विमानस्थलको स्वामित्वमा छन् । रोपनीको हिसाब गर्दा भैरहवा विमानस्थल करिब १० हजार रोपनीको हुनेछ । 

नयाँ थपिएको जग्गामा राडार, सुरक्षा, ह्यांगर, कार्गो, आयल निगमको डिपो, अध्यागमन, मर्मतसम्भार क्षेत्र, क्याटरिङ, पार्किङ स्थल र थप टर्मिनल भवन हुनेछन् । 

उक्त क्षेत्रफलले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय उडानका लागि क्षमता राख्ने आयोजना प्रमुख शर्माको भनाइ छ । अहिले भने आन्तरिकतर्फ दैनिक दैनिक ५/६ वटा मात्र नियमित उडान हुँदै आएको छ । एक सय सिट क्षमताका जहाजले यसमा उडान भरिसकेका छन् । 

चिनियाँ कम्पनी र नेपाली सब-कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल इन्फ्रा प्रालिबीच लेनदेनको विवादका कारण लामो समय काम रोकिएको थियो । नेपाल सरकारले गम्भीर चासो देखाएपछि चीनबाटै मजदूर ल्याएर चिनियाँ कम्पनीले काम अगाडि बढाएको थियो । 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर एसियाली विकास बैंक (एडीबी)ले भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लगानी गरेको हो । त्यसका लागि एडीबीले ४०.५, साउदी अरेबियाको साउदी फन्ड (ओएफआईडी) ३०.५, एडीबीकै अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत लगानी रहनेछ । 

विमानस्थलबाट प्रदेश-५ मा पर्ने प्युठानको चाल्नेटार र गुल्मीको सिमीचौरमा पनि घरेलु उडान सञ्चालन हुनेछन् । नेपाल-भारत सीमानजिक भएकाले गोरखपुर र लखनऊसम्मका भारतीय नागरिकले यस विमानस्थलाई प्रयोग गर्ने अपेक्षा छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को कोड 'फोर-ई'अनुसार तीन हजार मिटरको धावनमार्गमा बोइङ-७७७ सम्मका विमानहरूले उडान र अवतरण गर्न सक्छन् । त्यो भनेको चौडाइ ५२ मिटर देखि ६४ दशमलव ९९ मिटरसम्मका विमान हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।