काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएको बताएका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता महरले यो वा त्यो बहानामा कांग्रेस संविधानभन्दा बाहिर जान नसक्ने बताउँदै आवधिक निर्वाचन समयमै हुने दाबीसमेत गरेका छन्।
'आवधिक निर्वाचन लोकतन्त्रको प्राण हो। अमुक व्यक्ती र पार्टीको हितलाई ध्यानमा राखेर संविधान भन्दा बाहिर जान जान सकिँदैन,' नेता महरले भने। नेपाली कांग्रेस संस्कारले नै लोकतान्त्रिक भएको उनको दाबी छ।
नेकपा एमालेको गैरलोकतान्त्रिक चरित्रका कारण निर्वाचन आयोगले प्रस्ताव गरेको आवधिक निर्वाचनको समय तालिका प्रभावित हुनेमा चिन्ता व्यक्त गरेका छन्।
'एमालेका कारण आवश्यक नियम कानुन निर्माणमा ढिलो भएर आयोगले प्रस्ताव गरेको समय तालिका प्रभावित हुने होकि भन्ने चिन्ता कांग्रेसको हो,' महरले भने।
निर्वाचन आयोगले भने राष्ट्रिय सभा सदस्यको निर्वाचनको सबै तयारी पुरा भएको जनाएको छ। कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै पूर्ण स्वास्थ्य निर्देशिका पालना गरेर राष्ट्रियसभा सदस्यको निर्वाचन हुने आयोगले जनाएको हो।
यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको आयोगको भनाइ छ। निर्वाचनलाई लक्षित गर्दै आयोगले कोभिडको समयमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका सन्दर्भमा आवश्यक निर्देशिका पनि तयार गरेर पठाइसकिएको छ।
आयोगका अनुसार माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशैभर २ हजार २२५ जना मतदाता रहेका छन्।
सबै तयारी पुरा भइसकेको अवस्थामा एमालेका कारण समयमै निर्वाचन हुनेमा आफूहरू सशङ्कित रहेको महरले बताएका छन्।