काठमाडौं– पछिल्ला केही सातामा कोरोना संक्रमण ह्वात्तै बढेको छ। हिजो सोमबारमात्रै कुल परीक्षणको ३८.५ प्रतिशतमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। १७ हजार ४६५ जनाको परीक्षण गर्दा ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये आधा काठमाडौं उपत्यकाका छन्।
२५ पुसमा ९.१ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा ३ माघमा यो दर चार गुणाभन्दा बढी पुगेको छ। पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट नै बनेको छ। घना बस्ती, निर्वाध आवतजावत तथा सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी–निजी कार्यालयहरुमा हुने घुइँचोका कारण संक्रमण फैलिने जोखिम यहाँ बढी छ।
त्यसो त कोरोनाको पछिल्लो भेरिएन्ट छिटो फैलिने तर कम घातक भएको विज्ञहरुले बताइरहेका छन्। स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्यांकले पनि यो कुराको पुष्टि गर्छ। मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांक पीसीआर वा एन्टिजेन परीक्षण गराएकाहरुको हो। कतिपय मानिस लक्षण देखिए पनि परीक्षण नै नगरी घरमै बसिरहेको आँकलन मन्त्रालयका अधिकरीहरुको छ। ‘उपत्यकाका घरघरमा संक्रमित छन्, तर उनीहरु परीक्षणको लागि पुगेकै छैनन्,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘गणना भएका संक्रमित भन्दा धेरै संक्रमित समुदायमा भएको मन्त्रालयको ठम्याइ छ।’
अबको १० दिनमा संक्रमण उच्च बिन्दु (पिक) मा पुग्ने अनुमान मन्त्रालयको छ। ‘हामी यतिबेला कोरोनाको तेस्रो लहरको उच्च बिन्दुमा पुग्न केही दिन पछाडिमात्रै छौं,’ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले भने, ‘अबको १० दिनमा उच्च बिन्दुमा पुग्ने संकेत देखिएको छ।’ अहिले उपत्यकाका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा ५० प्रतिशतभन्दा धेरै संक्रमण पुष्टि भइरहेको छ।
२५ पुसमा ९.१ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा ३ माघमा यो दर चार गुणाभन्दा बढी पुगेको छ। पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट नै बनेको छ।
पाटन अस्पतालको प्रयोगशालामा संक्रमण दर ५५ प्रतिशतभन्दा माथि रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए। एक हप्ता अगाडिसम्म १० प्रतिशतसम्म रहेको संक्रमणदर ह्वात्तै बढेको शाक्यले सुनाए। परीक्षण गराउनेमा धेरैजसो लक्षण भएका बिरामी छन्।
त्रिवि शिक्षण अस्पतालमा पनि परीक्षण गरिएका मध्ये ४० प्रतिशतभन्दा बढी नमुनामा संक्रमण पुष्टि भएको देखिन्छ। त्यहाँ पनि लक्षण देखिएपछि जाने नै बढी छन्। एपीएफ अस्पताल बलम्बुमा पनि ५० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। अहिले परीक्षण गराउनेहरु अधिकांश लक्षण भएका नै भएकाले संक्रमण व्यापक रुपमा फैलिरहेको विज्ञहरु बताउँछन्। लक्षण भएका मानिस मात्रै परीक्षणको दायरामा आएकाले अब समुदाय स्तरसम्म परीक्षण गर्न थाल्नुपर्ने विज्ञहरुको सुझाव छ।
जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘अहिलेको परीक्षण मानिसहरु अस्पताल गएर मात्रै गराइरहेका छन्। तर कन्ट्याक्ट ट्रेसिङ गरेर उनीहरुलाई परीक्षणको दायरामा ल्याउने हो भने तथ्यांक निकै ठूलो आउँछ। समुदायमा कोरोना फैलिसकेकोमा दुईमत छैन, त्यसैले सतर्कता अपनाउने र अस्पतालहरु तयारी अवस्थामा राख्नुको विकल्प छैन।’
परीक्षणमा किन अरुचि?
पीसीआर र एन्टिजेन गरी अहिले दैनिक १७ हजारको हाराहारीमा कोरोना परीक्षण भइरहेको छ। परीक्षणका लागि पुग्नेहरु धेरैजसो लक्षण देखिएका, विदेश जाने प्रयोजनका लागि मात्रै छन्। कन्ट्याक्ट ट्रेसिङमा परेर परीक्षण गराउन पुग्नेको संख्या निकै कम छ। शुक्रराज अस्पतालका सूचना अधिकारी गौतम भन्छन्, ‘अहिले परीक्षण गराउन आउनेहरु भनेको लक्षण देखिएका, विदेश जाने प्रयोजनको लागि बढी छन्। थोरै मात्रामा परिवारमा कसैलाई संक्रमण देखिएमा अन्य सदस्यले परीक्षण गराउन आउने गरेका छन्।’
उनले थपे, ‘अहिले घरघरमा संक्रमित भएको आंकलन गरिएको छ, तर मानिसहरु लक्षण भए पनि जँचाउन आएका छैनन्। सामान्य लक्षण देखिँदा घरमै बसेका छन्। यो समस्या दोस्रो लहरमा पनि देखिएको थियो, जुन समस्या घातक बनेको थियो।’
हाल पीसीआर परीक्षणका लागि सरकारी अस्पतालले परीक्षण शुल्क एक हजार र निजीले दुई हजार लिँदै आएका छन्। डा. बाबुराम मरासिनी भन्छन्, ‘निःशुल्क र सर्वसुलभ परीक्षण नभएकाले परीक्षणको लागि जान मानिसहरु हिचकिचाएको देखिन्छ। पैसाको कारण पनि मानिसहरु लक्षण भएर पनि घरमा नै बसिरहेका छन्।’ सरकारले निःशुल्क परीक्षण गर्ने र निजीले पनि शुल्क कम गर्ने हो भने धेरैले परीक्षण गराउने डा. मरासिनीको दाबी छ। यस्तै समस्याले फेरि जटिलटता निम्त्याउने हो कि भन्ने उनी आशंका गर्छन्।
पीसीआर र एन्टिजेन गरी अहिले दैनिक १७ हजारको हाराहारीमा कोरोना परीक्षण भइरहेको छ। परीक्षणका लागि पुग्नेहरु धेरैजसो लक्षण देखिएका, विदेश जाने प्रयोजनका लागि मात्रै छन्।
उनले थपे, ‘अहिले घरघरमा लक्षणसहितका बिरामी छन्। परीक्षणको संख्या भन्दा धेरै गुणा मानिस घरमा लक्षणसहित बसेका छन्। अर्को कुरा लक्षण नभएका संक्रमितले झनै संक्रमण फैलाउने डर छ। त्यसैले परीक्षणको दायरा बढाउनुपर्छ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको तथ्यांकअनुसार देशभर १०२ वटा ल्याब छन्। तिनमा अहिले दैनिक १७ हजारको हाराहारीमा परीक्षण हुने गरेको छ। यो परीक्षण निकै कम भएको विज्ञहरु बताउँछन्।
सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ। निजी अस्पतालले पनि एक हजारभन्दा बढी लिन नपाउनेगरी शुल्क तोक्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ। यसका लागि अध्ययन समिति गठन गरिएको छ। समितिले अध्ययन गरी रिपोर्ट बुझाएपछि शुल्क निर्धारण हुने जनाइएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले पीसीआर शुल्क १ हजारमा झार्न निर्देशन दिएका छन्।
भ्याक्सिन नलगाउने बढी जोखिममा
कोरोनाविरुद्धको भ्याक्सिन नलगाउनेलाई संक्रमणको बढी जोखिम हुने विश्व स्वास्थ्य संगठनले बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारीले पनि यतिबेला अस्पतालमा भर्ना हुने धेरैजसोले भ्याक्सिन नलगाएको पाइएको जानकारी दिए।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘कोभिडका दुईवटा लहर सकिएको छ। पहिलो लहरमा तुलनात्मक रुपमा धेरै क्षति पुगेन, हामीलाई स्वास्थ्य संरचनामा नै कठिन भयो। दोस्रो लहरमा डेल्टा भेरिएन्टले ठूलो क्षति भयो। अक्सिजन र बेड अभावमा पनि धेरैले ज्यान गुमाउनुपर्ने अवस्था आयो। हाल डेल्टाको संक्रमण कम भएको भन्ने अनुमान छ। यहीबीचमा ओमिक्रोन भेरिएन्ट आएको छ। हालसम्मको अवस्था हेर्दा यो भेरिएन्ट निकै संक्रामक देखिए पनि घातक देखिएको छैन। खोप लगाएका मानिसलाई यो भेरिएन्टले धेरै घात गर्न सकेको छैन। तर, संक्रमण धेरै फैलिएमा फेरि नयाँ भेरिएन्ट उत्परिवर्तन हुने सम्भावना जहिले पनि रहन्छ। त्यसैले संक्रमण फैलन नदिन सतर्कता अपनाउनुपर्छ।’
उनका अनुसार अहिलेको भेरिएन्टले श्वास नलीको माथिल्लो भागमा असर गर्ने देखिएको छ। पहिलेका भेरिएन्टले फोक्सोमा इन्फेक्सन गराएको थियो। ओमिक्रोनले रुघा लागेको जस्तो हुने र नाक, घाँटी, छाती र श्वासनलीहरुमा इन्फेक्सन गराउँछ। डा. पुनले भने, ‘जति धेरैलाई भ्याक्सिन लगायो, त्यति नै कम घात गर्ने देखिएको छ। अहिलेसम्मको अवस्था हेर्दा भाइरस लागे पनि माइल्ड इन्फेक्सन देखिएको छ।’