काठमाडौं- सत्तारूढ गठबन्धन दलहरूको बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भएको भेटमा यस्तो समझदारी बनेको हो।
राष्ट्रिय सभा निर्वाचनको रणनीति, संसद् खुलाउने विषय तथा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि गरेको तयारीलगायतका विषयमा छलफल गर्ने उद्देश्यले गठबन्धनको बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए।
गठबन्धनको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको रणनीति, स्थानीय तहको निर्वाचन मिति घोषणालगायतका विषयमा छलफल हुने सम्भावना छ। अध्यक्ष दाहाललाई कोरोना संक्रमण भएपछि दुई नेताबीच भेट भएको थिएन।