बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश-२ मा खुसीयाली: नाम मधेश, राजधानी जनकपुर

प्रदेश २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश पारित गरेको छ भने स्थायी राजधानी जनकपुरधाम तय गरेको छ।
 |  सोमबार, माघ ३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

काठमाडौं- संविधान जारी भएपछिको २०७४ को संघ र प्रदेश निर्वाचनको मत परिणामपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ माघ ३ गते सात प्रदेशको अस्थायी राजधानी तोके। त्यसको ठिक चार वर्षपछि सोमबार प्रदेश २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश पारित गरेको छ भने स्थायी राजधानी जनकपुरधाम तय गरेको छ। प्रदेशको अस्थायी राजधानी तोकिएको ठिक चार वर्षपछि प्रदेश २ ले स्थायी राजधानी र नाम पाएको हो। यसअघि २०७६, चैत ३ मा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको थिएन ।

triton college

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए। जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए। १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो। तर अरु दलका १६ सांसदले पनि प्रदेशको नाम मधेश राख्‍ने प्रस्तावको पक्षमा मतदान गरेका हुन्। मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए। 

कांग्रेस र एमालेका सांसदद्वारा पार्टीको प्रस्तावविरुद्ध मतदान

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समावजादी पार्टीका प्रदेश सभा सदस्यहरुले भने आफ्नै पार्टीको प्रस्तावविरुद्ध मतदान गरेको पाइएको छ।  

कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए।

Metro Mart
vianet

नामका लागि भएको मतदानमा कुल ९९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए। जसमध्ये ८० जना प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गरे। जबकी जसपाको ३९, लोसपा १६ माओवादी केन्द्र ८ गरी कुल ६३ मत हुन आउँछ। एक सदस्य रहेको नेपाल संघीय समाजवादी पार्टीको समर्थन समेत मधेशकै पक्षमा थियो। कुल ६४ मत मात्रै मधेशको पक्षमा देखिएको थियो, जुन दुई तिहाई मतभन्दा ६ मत कम थियो। तर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीकै केही प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गरेपछि ८० मत खसेको हो। 

कांग्रेस, एमाले र नेकपा एसका प्रदेशसभा सदस्यहरुले मधेशको पक्षमा मतदान गर्दै आफ्नै दलको प्रस्तावलाई निस्क्रिय बनाउन भूमिका खेलेको प्रष्ट भएको छ। स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले मधेशको पक्षमा अन्य दलका  प्रदेशसभा सदस्यहरुसँग मतदान गर्न आग्रह गरेका कारणले मधेशको पक्षमा दुई तिहाई मत पुगेको हो।

मतदानमा ५ सांसद अनुपस्थित 

प्रदेशको नाम र अस्थायी राजधानीका लागि मतदान भइरहँदा ५ जना प्रदेशसभा सदस्यहरु अनुपस्थित देखिएका थिए। प्रदेशको नाम र राजधानी तोक्न सोमबार भएको मतदानमा ९९ जना सांसदहरु मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए। जबकी प्रदेश २ मा प्रदेशसभा सदस्यहरुको संख्या १०४ रहेको छ। 

प्रदेशको नाम र राजधानी तोक्नका लागि भएको मतदान सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित नेकपा एकिकृत समाजवादीका सांसद डिल्लीप्रसाद उप्रेती र सोही पार्टीको सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित गोविन्द बहादुर न्यौपाने सोमबार बसेको प्रदेशसभा बैठकमा अनुपस्थित रहेका थिए।

त्यस्तै, नेपाली काँग्रेस बाराका सांसद शोभा लामा, नेकपा एमाले धनुषाका अनिता कुमारी यादव तथा जनता समाजवादी पार्टी नेपाल महोत्तरीका सांसद डा. रिना यादव समेत अनुपस्थित रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। 

विशेष समितिमा पनि सहमति नभएपछि मतदान

प्रदेशको नाम र स्थायी राजधानी तोक्‍न ढिलाइ भएपछि राजनीतिक दलहरुको सहमतिमा नै विशेष समिति बनाइएको थियो। २०७८ पुस १३ गते बसेको प्रदेश सभाको पाँचौं बैठकले प्रदेशको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव अध्ययन गर्न 'राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समिति २०७८' गठन गरिएको थियो।

विशेष समितिले सहमति जुटाउन असफल भएपछि मतदानमा जाने निष्कर्षसहित समितिले आफ्नो प्रतिवेदन सदनमा प्रस्तुत गरेको थियो। नाम र राजधानीका  लागि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले ६ बुँदे निष्कर्षसहित प्रदेशसभामा प्रतिवेदन पेश गरेको थियो।

प्रतिवेदनमा माघको पहिलो हप्तामै मतदानमा जान प्रदेशसभालाई अनुरोध गरिएको थियो। गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, श्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्ध लगायतको व्यवस्थापन मिलाउन भनिएको छ। मतदान प्रक्रिया प्रदेशसभाको सभाकक्षँगै रहेको कक्षमा गर्न प्रतिवेदनमा भनिएको थियो।

विशेष समितिले प्रदेशको नामका लागि मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेशमा मतदान गर्न सुझाव दिइएको थियो।

त्यस्तै स्थायी राजधानीका लागि आएको ६ वटा प्रस्ताव ३ वटा प्रस्तावमा झार्दै जनकपुरधाम (उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमा) पहिलो प्रस्ताव राखिएको थियो। त्यस्तै वीरगञ्‍ज (पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म) राख्ने पनि प्रस्ताव समेत गरिएको थियो। वीरगञ्ज महानगरपालिकालाई राजधानीको रुपमा समेत प्रस्ताव गरिएको थियो। 

चार वर्षपछि नाम र राजधानी

सातवटै प्रदेशको निर्वाचन भइ प्रदेशसभा तथा सरकार गठन भएको लगभग चार वर्षपछि प्रदेश २ ले नाम र राजधानी पाएको हो। नेपालको संविधान अनुसार हरेक प्रदेशले आफ्नो राजधानी सम्बन्धित प्रदेश सभाको दुई तिहाइ बहुमतबाट तोक्नुपर्ने प्रावधान छ। 

संविधानसभामार्फत असोज ३, २०७२ मा “नेपालको संविधान” जारी भएपछि नेपालमा संघीय शासन प्रणालीको थालनी भएको हो। तथापि संविधानले अँगालेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था संविधानसभामा एकाएक उब्जेको विषय भने थिएन। दश वर्षे माओवादी सशस्त्र संघर्ष र २०६२-०६३ को जनआन्दोलनको जगमा पराम्परागत राजतन्त्रको अन्त्य गरिएको थियो भने अन्य अनेकौं आन्दोलनले यसको पृष्ठभूमि भूमि तयार पारेका थिए।नयाँ बन्ने संविधानमा राज्यको पनुर्संरचना र तिनको शासकीय स्वरूप कस्तो हुने भन्‍ने मूल विषयको बहस छेडिएका बेला मधेशमा उठेको आन्दोलनले निकासको एक खड्किलो थपिदियो । यसै आन्दोलनपछि चैत ३०, २०६३ मा अन्तरिम संविधान, २०६३ मा संशोधन गरी नेपालको राज्य संरचना संघीय स्वरूपको हुनेस निश्चित गरिएको थियो। जेठ १५, २०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य विधिवत रूपमा घोषणा गरेको थियो। 

खुसीयालीमा सार्वजनिक बिदा

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ। नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको घोषणा गरेको हो। 

मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताएका हुन्। नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनले बताए। 

राजधानीको विरोधमा मुख्यमन्त्रीको पुत्ला दहन

प्रदेश सरकारले चार वर्षपछि दुई तिहाइ बहुमतले नाम र राजधानी टुंग्याएको भन्दै खुसीयालीमा मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरे पनि राजधानीका विषयमा पनि असन्तुष्टि पनि देखिएको छ। 

वीरगन्जमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुरधाम तोक्ने प्रस्ताव पारित गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताले घण्टाघर चोकमा मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हुन्। 


प्रकाशित: Jan 17, 2022| 20:34 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।