शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंका गेस्ट हाउस : महिलाका लागि असुरक्षित बन्न थालेका हुन्?

काठमाडौंका गेस्ट हाउस : महिलाका लागि असुरक्षित बन्न थालेका हुन्?

'घटना बढ्दै गएपछि हामीले गेस्ट हाउसमाथि निगरानी बढाएका छौं। गेस्ट हाउस छिर्दा र बाहिरिने ठाउँमा सीसी क्यामेरा अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छौं।'
 |  सोमबार, माघ ३, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

सोमबार, माघ ३, २०७८

घटना : १

triton college

पुस १२ गते कामको खोजीमा सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया एक महिला काठमाडौंको नयाँ बसपार्कस्थित एउटा गेस्ट हाउसमा बलात्कृत भइन्। विदेश जाने तयारीमा रहेका नौ जना युवकको समूहले तीनवटा गेस्ट हाउसमा लगेर ती महिलालाई बलात्कार गरेका थिए। प्रहरीले घटनामा संलग्‍नमध्ये ६ जनालाई पक्राउ गर्‍यो। उनीहरुलाई कलंकीस्थित न्यु गण्डकी गेस्ट हाउस एन्ड खाजा घरबाट पक्राउ गरिएको थियो। अन्य तीन जनालाई पनि प्रहरीले पीडितले जाहेरी दिएको २४ घण्टामै पक्राउ गरेको थियो।

घटना : २

मंसिर १५ मा काठमाडौंको कोटेश्वरस्थित सुब्बा गेस्ट हाउसमा १२ र १५ वर्षीया दुई बालिका बलात्कृत भए। बलात्कार आरोपमा सप्तरीको वनाहा घर भएका ४२ वर्षीय फटुली साहलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो। मकवानपुरबाट दुई बालिकालाई फकाएर ल्याएर साहले गेस्ट हाउसमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

पछिल्लो दुई महिनामा भएका यी दुई घटना प्रतिनिधि मात्रै हुन्। काठमाडौंका गेस्ट हाउसमा यस्ता घटना हुने क्रम बढ्दै गएको प्रहरी तथ्यांक छ।

corrent noodles
Metro Mart

नयाँ बसपार्क, कोटेश्वर, सुन्धारा र कलंकीमा धेरै होटल तथा गेस्ट हाउस छन्। आरोपितहरूले अपराध योजना बनाउने, अपराध गर्ने र अपराध गरेपछि लुक्ने आश्रयस्थलका रूपमा गेस्ट हाउसलाई प्रयोग गर्ने गरेको अपराध अनुसन्धानमा संलग्‍न प्रहरी अधिकारीहरु बताउँछन्। गेस्ट हाउस सञ्चालकहरुले पैसा पाएपछि जस्ता मान्छे आए पनि बस्न दिने, जस्ता गतिविधि भए पनि बेवास्ता गर्ने गर्दा काठमाडौं गेस्ट हाउस आपराधिक गतिविधि गर्ने सेल्टर बन्दै गएका त होइनन् भन्‍ने प्रश्‍न उठ्न थालेको छ। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तमराज सुवेदी ग्राहकको सहजताका लागि भन्दै गेस्ट हाउस सञ्‍चालकले रेकर्ड नराख्‍ने र प्रहरीले सीधैं छापा हान्‍न पनि असहज हुने भएकाले गेस्ट हाउस आपराधिक गतिविधि सञ्‍चालनको सेल्टर बन्दै गएको बताउँछन्।  उनीहरुले आफ्नो अपराध कर्म लुकाउन सहज थलोका रुपमा गेस्ट हाउसलाई प्रयोग गर्न थालेको डीआईजी सुवेदीको भनाइ छ। 

‘यस्तै घटना बढ्दै गएपछि हामीले गेस्ट हाउसमाथि निगरानी बढाएका छौं', उनले भने, 'गेस्ट हाउस छिर्दा र बाहिरिने ठाउँमा सीसी क्यामेरा अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छौं।'

गेस्ट हाउसहरुले अपराध न्यूनीकरणमा सहयोग नगरेमा दिनहुँ छापा मार्ने अवस्था पनि आउन सक्ने बताए। गेस्ट हाउसको व्यवस्था सुधारका लागि प्रहरीले १० दिनभित्र अनिवार्य सीसी क्यामेरा जडान गर्न उर्दी जारी गरेको छ। गेस्ट हाउस अपराध गर्ने थलो बन्दै गएपछि ग्राहकको रेकर्ड राखेको वा नराखेको बारे छानबिन गर्न काठमाडौं प्रहरीलाई निर्देशन दिइसकेको डीआईजी सुवेदीले बताए। 

'सही र सम्पूर्ण विवरण लिएर मात्र गेस्ट हाउसमा पाहुना राख्‍न प्रहरीले व्यवसायीलाई आग्रह गरेको छ,' डीआईजी सुवेदीले थपे, 'गेस्ट हाउसलाई अपराधको केन्द्रबाट मुक्त गराउन महानगरीय प्रहरीले बसपार्क क्षेत्रका गेस्ट हाउस सञ्चालकसँग छलफल थालेको छ।' 

‘हाम्रो पनि चाहाना हाम्रो गेस्ट हाउसमा आपराधिक गतिविधि गर्ने थलो नबनोस् भन्‍ने हो। त्यसतर्फ हामी सचेत छौं। तर, कहिलेकाहीं अपत्यारिला घटना पनि हुन्छन्। यसो हुँदा पूरै गेस्ट हाउस खराब छन् भन्‍न मिल्दैन।’

गेस्ट हाउसमा कुनै पनि सानोतिनो घटनादेखि जघन्य अपराध भएमा गेस्ट हाउस सञ्चालकको पनि त्रुटि हुन सक्ने भएकाले उनीहरुलाई जिम्मेवार बनाउन प्रहरीले अभियान चलाउने भएको छ। त्यस्तो अपराधमा उनीहरुको संलग्नता वा  लापरबाही गरेको पाइए सञ्‍चालनविरुद्ध मुद्दा चलाउने डीआईजी सुवेदीले बताए। ‘हामी गेस्ट हाउस सञ्चालकलाई जिम्मेवार बनाउने र उनीहरुलाई कमजोरी सुधार्ने अवसर दिँदैछौं। उनीहरु सचेत नभए अब यस्ता घटना रोक्न आक्रामक ढंगले लाग्नुपर्ने हुन सक्छ,’उनले भने। 

गेस्ट हाउस सञ्‍चालक भने पाहुनालाई दुःख नदिनु र उनीहरुलाई सहज ढंगबाट बसोबास गर्न दिनु आफूहरुको कर्तव्य  भएकाले कतिपय अवस्थामा रेकर्ड राख्‍न नसकिने बताउँछन्। यद्यपि सकेसम्म सबैको रेकर्ड राख्‍ने र आपराधिक गतिविधि हुन नदिने कुरामा आफूहरु सजग रहने गरेको सुन्धारास्थित नमस्ते गेस्ट हाउसका सञ्चालक सञ्‍जय राना बताउँछन्। 

‘हाम्रो पनि चाहाना हाम्रो गेस्ट हाउसमा आपराधिक गतिविधि गर्ने थलो नबनोस् भन्‍ने हो। त्यसतर्फ हामी सचेत छौं। तर, कहिलेकाहीं अपत्यारिला घटना पनि हुन्छन्। यसो हुँदा पूरै गेस्ट हाउस खराब छन् भन्‍न मिल्दैन,’ उनले भने, 'गलत गर्नेलाई कारबाही गर्नुपर्छ। सबैलाई दुःख दिन मिल्दैन।’ 

बर्सेनि बढ्दै छन् बलात्कारका घटना 

प्रहरीको तथ्यांकअनुसार नेपालमा बर्सेनि बलात्कारका घटना बढ्दै गएका छन्। आर्थिक वर्ष २०७३-०७४ मा बलात्कारका घटना एक हजार १३१ वटा भएको थियो भने जबरजस्ती करणीको प्रयासका घटना ५३६ वटा भएका थिए। आर्थिक वर्ष २०७४-०७५ मा बलात्कारका घटना ३४९ ले बढेर एक हजार ४८० पुगेको थियो। बलात्कार प्रयासको घटनासमेत २०७३-०७४ को तुलानामा १९१ ले बढेर ७२७ पुगेको थियो। 

आर्थिक वर्ष २०७५-०७६ मा बलात्कारका घटना अघिल्लो वर्षको तुलनामा ७५० ले बढेर दुई हजार २३० पुगेको छ भने बलात्कार प्रयासका घटना यस वर्ष ७८६ वटा भएका छन्। आर्थिक वर्ष २०७६-७७ मा बलात्कारका घटना अघिल्लो वर्षको तुलानामा थोरै घटे पनि अवस्था भने भयावह देखिएको छ। यो वर्ष दुई हजार ११८ जबरजस्ती करणीका घटना भएका छन् भने बलात्कार प्रयासका घटना ६८७ वटा भएका छन्। 

आर्थिक वर्ष २०७७-०७८ मा बलात्कारका घटना अघिल्लो वर्षको तुलनामा ४९५ ले बढेर दुई हजार ६१३ वटा पुगेको प्रहरी तथ्यांकमा उल्लेख छ। जबरजस्ती करणीको प्रयासका घटना भने २०७७-०७८ मा ७३६ वटा भएका छन्। 

चालू आर्थिक वर्ष २०७८-०७९ को पछिल्लो पाँच महिनामा एक हजार ३२ वटा बलात्कारका घटना भएको प्रहरी तथ्यांकले देखाउँछ। बलात्कार प्रयासका घटना भने पाँच महिनामा ३३१ वटा भएको प्रहरीले जनाएको छ। 

मानिसमा सचेतनाको वृद्धि भएसँगै पछिल्लो समय पीडितले उजुरी दिने क्रम बढेको छ। यसले गर्दा पनि घटना धेरै भएझैं देखिन्छ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बलात्कारका घटना बढ्नुमा उजुरी दिनेको संख्यामा वृद्धि हुनु  मुख्य कारण ठान्छन्। उनले भने, 'पहिला-पहिला घटना हुने तर, त्यसलाई सामाजिक बहिष्कार तथा अन्य विभिन्‍न डर देखाएर गुपचुप राख्‍ने गरिन्थ्यो। तर, मानिसमा सचेतनाको वृद्धि भएसँगै पछिल्लो समय पीडितले उजुरी दिने क्रम बढेको छ। यसले गर्दा पनि घटना धेरै भएझैं देखिन्छ।' यद्यपि बलात्कारका घटना कमी आउन नसक्नु भने दु:खद भएको उनले बताए। 

महिला अधिकारकर्मी मीरा ढुंगाना भने आरोपित पक्राउ गर्न ढिलाइ हुनु वा गुपचुप ढंगबाट घटना मिलाउन खोज्‍नु, बलात्कारीलाई कडा सजाय नदिनु, पीडितले वर्षौंसम्म न्याय नपाउनु, अदालत फैसला गरे पनि प्रभावकारी कार्यान्वयन नहुनु जस्ता कारणले बलात्कार घटना कम नभएको बताउँछन्। 

‘महिला हिंसा न्यूनीकरण गर्न सरकारले प्रभावकारी कदम नचाल्दा, सचेतनाका अभियान फितलो हुँदा, पीडितले समयमा न्याय नपाउँदा बलात्कारका घटना बढेको छ,’ उनले भनिन्। यस विषयमा राज्य गम्भीर हुनुपर्नेमा उनको जोड छ।

प्रकाशित: Jan 17, 2022| 16:17 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।