काठमाडौं– अफगानिस्तानी जनताका लागि सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ।
आइतबार परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा अफगानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको हो।
अफगानिस्तानमा गत अगष्टमा तालिवानले आफ्नो हातमा सत्ता लिएपछि त्यहाँ आर्थिक तथा मानवीय संकट उत्पन्न भएको छ। अफगानिस्तानमा हाल खाद्यान्नको अभाव हुनुका साथै लाखौँ बालबालिकालाई कुषोषण हुन थालेको छ। संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई अफगानिस्तानमा सहायता सामग्री पठाउन अनुरोध गरेसँगै नेपालमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रहरुको अग्रसरतामा सहायता सामग्री पठाइएको हो। टोलीमा सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधिका साथै पत्रकारहरु समेतको सहभागिता रहेको छ।
टोली अफगानिस्तान प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघले दिएको सूची अनुसार औषधी, घरायसी सामग्री र लत्ता कपडाहरु लिएर नेपाली टोली जाँदै गरेको बताए। करिब १४ टन बराबर सामान रहेको उनले जानकारी दिए।
परराष्ट्रमन्त्री खड्काले विश्वका जुनकुनै कुनामा रहेका जनतालाई अप्ठ्यारो पर्दा नेपालले मानवीय सहयोग पुर्याउन सामर्थ्य राख्ने बताए। अफगानिस्तानी जनतालाई सहयोग गरेसँगै नेपालको छवि र प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा बढ्ने विश्वास उनले व्यक्त गरे।
नेपाली टोली हिमालय एयरलाइन्सको जहाजबाट प्रस्थान गरेको हो। सहायता सामग्री काबुलस्थित संयुक्त राष्ट्रसंघको प्रतिनिधिलाई हस्तान्तरण गरेसँगै टोली आजै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।