जनकपुरधाम- नगर क्षेत्रभित्र विकासको लागि चौतर्फी आवाज उठी रहेकोबेला जनकपुर उपमहानगरपालिकाका नगरप्रमुखले जनताले तिरेको करबाट एक करोड भन्दा बढीको गाडी खरिद गरेका छन्।
जनकपुरका नगर प्रमुख लालकिशोर साहले चढ्न गाडी छँदाछँदै १ करोड ३८ लाख पर्ने फोर्ड कम्पनीको विलासी गाडी खरिद गरेका हुन्। प्रमुख साहले जनकपुरस्थित शो रुमको मध्यस्थतामा राजधानीको थापाथलीस्थित शो रुमबाट करिब एक साता अगाडी फोर्ड कम्पनीको डेनोभर ब्राण्डको गाडी खरिद गरेको उपमहानगरपालिका स्रोतले जनाएको छ।
यसघघि प्रमुख साहले प्रयोग गर्दै आएको महिन्द्रा कम्पनीको गाडी उपप्रमुख रीता झालाई प्रयोग गर्न दिएको बुभिएको छ। यता प्रमुख साहले आफ्नो प्रयोगका लागि महँगो गाडी खरिद गरेपछि उनको आफ्नै पार्टी राजपा भित्र विरोधका हुन थालेको छ। प्रदेशका मन्त्रीहरुले समेत यति महँगो गाडी प्रयोग गर्न नसकेको अवस्थामा नगर प्रमुखले चर्को मूल्यपर्ने गाडी खरिद गरेर जनभावना विपरित काम गरेको राजपाका नेताहरुले आरोप लगाउन थालेका छन्।
राजपाका जिल्ला नेता धिरेन्द्रबहादुर सिंहले बिना टेन्डर गाडी खरिद गरेर नगर प्रमुखले नितीगत भ्रष्टाचार गरेको आरोप लगाए। कार्यालयमा प्रमुखलाई चढ्न गाडी भएपनि महँगो गाडी खरिद गर्नुको कुनै तुक नरहेको सिंहले बताए।
सरसफाई सम्बन्धी सवारी साधनको अभावमा फोहोर उठ्न नसकेको अवस्थामा नगर प्रमुखले महँगो गाडी खरिद गरेर यहाँको विकासलाई थप पछाडी धकेल्ने काम गरेको सिंहले आरोप लगाए।
‘एक करोडमा एक दर्जन ट्रयाक्टर खरिद गर्न सकिन्थ्यो,’ सिंहले भने, ‘ट्रयाक्टर नभएर फोहोर उठ्न सकेको छैन, एक करोड भन्दा बढी मूल्य पर्ने गाडी किन खरिद गर्नु पर्यो?,’
यता युवाहरुको समूह जनकपुर युथ डेवलपमेन्टका संयोजक सरोज मिश्रले मधेश आन्दोलनको जगमा नगर प्रमुखमा निर्वाचित भएका साहले आन्दोलनको भावना विपरित विलासी गाडी खरिद गरेको आरोप लगाए। गाडीमा खर्चिएको रकमले विकास निर्माण कार्यमा ठुलो सहयोग हुन सक्दथ्यो उनको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४