काठमाडौं- पराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानलाई करीब १४ टन मानवीय सहायता सामग्री प्रदान गरिने बताएका छन्। उक्त सामग्रीसहित आज नेपालको सरकारी टोली अफगानिस्तानको राजधानी काबुल जाँदै छ।
परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट सहायता सामग्री लिएर आज बिहान काबुल जान लागेको हो।
सोही अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले संयुक्त राष्ट्रसंघको टोलीले उपलब्ध गराएको सूची अनुसार औषधि, लत्ता कपडा, भाँडाकुँडालगायतका करिब १४ टन सामग्री प्रदान गर्न लागिएको बताएका छन्।
मन्त्री खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको बताएका हुन्।
मन्त्री खड्काले अफनानिस्तानको पछिल्लो समस्याका बारेमा मिडियामा देखे सुनेपछि नै सुरुदेखि नै आफ्नो मनमा यो ‘आइडिया’ आएको र त्यसका लागि विभिन्न कूटनीतिक माध्यमबाट पहल गरी नेपाल सरकार, मन्त्रिपरिषद्मार्फत यो अभियान अघि बढेको जानकारी गराए।
मन्त्री खड्काले सहायता सामग्री पुर्याउन हिमालय एयरलाइन्सले निःशुल्क उडान सहयोग गरेको बताए। सामग्रीहरू व्यापारी व्यवसायीहरूले सहयोग गरेको मन्त्री खड्काको भनाइ छ। उक्त सामग्री काबुल पुगेर मन्त्रालयका सहसचिव लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई सामग्री हस्तान्तरण कार्यक्रम रहेको छ।