काठमाडौं- नव विवाहित दम्पतिले आफ्नो विवाह समारोहमा संकलित भएको सम्पूर्ण रकम असहाय बालबालिकालाई आवास सुविधासहित पढाइरहेको एउटा आश्रमलाई प्रदान गरेका छन्।
नव दम्पति सुबुना बस्नेत र निवास गौतमले आफ्नो विवाह समारोहमा संकलित भएको कुल रकम ४० हजार ४ सय ६५ रुपैयाँ काठमाडौंको गुहेश्वरीस्थित प्रणवानन्द आश्रमको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन्। उक्त आश्रममा २ सयभन्दा बढीको संख्यामा असहाय बालबालिकाहरु पढ्छन।
प्रणवानन्द आश्रमलाई रकम प्रदान गर्दै सुबुनाले भनिन्, 'आफ्नो जीवनको यस्तो महत्वपूर्ण दिनमा दुइ सयभन्दा बढी असहाय बालबालिकाहरुको लागि सानो मद्दत गर्न पाउँदा आत्मसन्तुष्टिको अनुभूति भएको छ।' नव दम्पतिले यो सानो कार्यबाट असहाय बालबालिकाको जीवनलाई सुखमय बनाउन थप उर्जा र प्रेरणा समेत मिलेको बताए।
सुबुना बस्नेत विवेकशील साझा पार्टीको केन्द्रिय सदस्य हुन्। गत संसदीय निर्वाचनमा उनी काठमाडौंको निर्वाचन क्षेत्र नं ४ की उम्मेदवार समेत थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४