काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले शनिबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर ज्ञापन पत्र बुझाएको थियो। ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका हुन्।
‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ। सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ,’ उनले भने।
प्रधानमन्त्री देउवाले ओमिक्रोन निकै संक्रामक भएर उच्च सावधानी अपनाउनसमेत आग्रह गरेका छन्। देउवाले आफूले सरकारको नेतृत्व गरेपछि कोरोनाविरुद्धको खोप लगाउने संख्या वृद्धि भएको दाबी गर्दै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढेको बताए ।
एमाले उपाध्यक्ष सुवाश नेम्वाङ नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्रीलाई देउवालाई भेटेर कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो।
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको टोलीमा नेम्वाङसँगै योगेश भट्टराई, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, कृष्ण राई, सरिता न्यौपानेलगायत नेताहरू सहभागी थिए।