काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ अभिव्यक्तिप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ।
पुस १५ गते उत्तराखण्डको हल्द्वानीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्ती मोदीले लिपुलेकमा भारतले सडक विस्तार गरिरहेको बताएका थिए।
उक्त अभिव्यक्तिप्रति कांग्रेस महामन्त्रीद्वाय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन्।
विज्ञप्तिमा भनिएको छ, 'लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ।'
नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले राख्दै आएको निम्न धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहोर्याउन चाहेको बताइएको छ।
सात बुँदा बारे जानकारी गराउँदै विज्ञप्तिमा भनिएको छ, 'लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो। नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ। कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ।'
नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधनमार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय राजनीतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट भएकोसमेत जनाइएको छ।
विज्ञप्तिमा थप भनिएको छ, 'दुई राष्ट्र बीचको सीमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ। १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्विकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं। नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ।'
दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको उल्लेख गर्दै कांग्रेसले भनेको छ, 'यस अर्थमा सीमासम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ।'