काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले फ्रान्सले विश्वकप फुटबलको उपाधी उचालेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
पहिलो पटक फाइनलमा पुगेको क्रोएशियालाई ४-२ ले हराएर फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । यसअघि फ्रान्सले सन् १९९८ मा आफ्नै देशमा आयोजना भएको विश्वकप जितेको थियो ।
यसै विषयलाई मुख्य समाचार बनाउदै आजको कान्तिपुर दैनिकले फ्रान्स विश्वविजेता शीर्षकमा खबर लेखेको छ भने अन्नपूर्ण पोस्टले फ्रान्स च्याम्पियन शीर्षकमा समाचार छापेको छ । ३२ देश सहभागी भएको २१ औं संस्करणको विश्वकप फुटबलमा १६९ गोल भयो भने १२ वटा आत्मघाति गोल भएको पनि अन्नपूर्णले लेखेको छ ।
२२ वटा पेनाल्टी दिइएको यस विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी इङ्ल्याण्डका हेरी केन भए । उनले खेल अवधिभरमा ६ वटा गोल गरेका थिए । सबैभन्दा बढि गोल गर्ने देश भने बेल्जियम बनेको छ । उसले यस विश्वकपमा १६ गोल गरेको अन्नपूर्णमा खबर छ ।
विश्वकपको दौरानमा भएका गतिविधि समेटेर अन्नपूर्णले यसरी ग्राफ नै तयार पारेको छ ।

यसैगरि आजका अखबारहरुले डा गोविन्द केसीको जारी अनसन र चिकित्सा शिक्षा विधेयकका विषयमा सरकारले लिएको अडानलाई पनि प्राथमिकतामा पारेका छन् ।
कान्तिपुरले चिकित्सा शिक्षा विधेयकः सरकारको अडान शीर्षकमा खबर छापेको छ । उसका अनुसार सरकारले चिकित्सा शिक्षा कार्यदलको प्रतिवेदन हुबहु लागु हुँदैन भनेको छ भने अध्यादेशअनुसारको विधेयक अमान्य हुने पनि बताएको छ ।
अन्नपूर्णले राजदुत बन्ने मापदण्डलाई पनि विशेष समाचार बनाएको छ । समाचारअनुसार राजदुत बन्न न्यूनतम ३५ वर्ष उमेर हुनु पर्ने छ भने कम्तिमा स्नातक गरेको हुनुपर्ने छ ।
सरकारी सेवाका निम्ति अयोग्य ठहरिने गरि बर्खास्त नभएको, विदेशको स्थायी÷अस्थायी आवासीय अनुमति प्राप्त नगरेको, फौजदारी कसुरमा सजाय नपाएको, अग्रेजी भाषामा राम्रो दक्खल भएको हुनु पर्ने भनि राजदुतका लागि मापदण्ड बनाएको अन्नपूर्णले लेखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४