काठमाडौं– नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले लिपुलेकमा भारतले सडक विस्तार गरेको विषयमा कोही राष्ट्रवादी नबोलेको बताएका छन्।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार भइरहेको बताएका थिए। यसै सन्दर्भमा नेपाली भूमि लिपुलेकमा भारतले सडक विस्तार गर्दा कोही राष्ट्रवादी बोल्न नसकेको भण्डारीले बताएका हुन्।
देशको सिमाना मिच्दा कोही नबोल्ने तर आन्तरिक विषयमा भने बबाल गर्ने गरिएको उनको भनाइ छ। ‘देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बबाल गर्छन्। देश भनेको आमा हुन्, आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे, त्यसैले पीडाले आहत म आफैंलाई पनि श्रद्धान्जली बाहेक म के भन्न सक्छु र!’ उनले सामाजिक सञ्जालमा भनेका छन्। भारतले लिपुलेकको नेपाली भूमिमा सडक संरचना बनाइरहेको समाचार बाहिरिए पनि सरकार भने मौन छ।
नेता भण्डारी हालै सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला प्यानलबाट उपसभापतिका उम्मेदवार थिए। सभापति देउवालाई आलोचनात्मक रुपमा हेर्ने भण्डारी महाधिवेशनमा पराजित भए।