काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पार्टी सभापति शेरबहादुर देउवासँग नमिलेको स्पष्टिकरण दिने भएका छन्। पौडेल समुहका नेताहरुले पार्टी सभापति देउवासँग मिलेको आरोप लगाइरहेकाबेला उनले आफू नमिलेको प्रष्टीकरण दिन सोमबार आफू निकट नेताहरुलार्इ बोलाएका छन्।
असार १८ गते साँझ पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच एक्लाएक्लै भेट भएको तस्बिर सार्वजनिक भएपछि पौडेल समुहका नेताहरुले उनलार्इ देउवासँग 'म्याच फिक्सिङ' भएको आरोप लगाइरहेका छन्।
नेता पौडेलले असार ३२ गते आफ्नो क्याम्पका नेताहरुलार्इ बैठकका लागि बिहान ११ बजे बोलाएका हुन्। पौडेल पक्षका एक नेताका अनुसार उक्त बैठकमा पार्टी सभापति देउवाले साउन २ गतेका लागि बोलाएको बैठकका मुद्दाका विषयमा छलफल गरिनेछ। भेलामा पौडेलसँगै नेताहरु प्रकाशमान सिंह, कृष्ण सिटौला, कुल बहादुर गुरुङ र अर्जुननरसिंह केसीलगायतका नेताहरु सहभागी हुनेछन्।
वर्तमान राजनैतिक अन्यौलता र नेता पौडेल र सभापति देउवाबीच सहमति भएको भनिएका विषयमा प्रष्ट पार्न अर्जुननरसिंह केसीलगायतका नेताहरुले दबाब दिएका थिए।
नेताहरुका अनुसार पार्टी सभापति देउवाले साउन २ मा शीर्ष नेताहरुको बैठक बोलाएका छन्। यो बैठकमा महासमिति बैठकको मिति, विधान मस्यौदा समिति गठन र पार्टीका विभागहरुलाई पूर्णता दिने लगायतका एजेण्डा छ।
सभापति देउवा स्वास्थ्य उपचारका लागि विदेश जाने भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४