जनकपुरधाम- ढुवानीको क्रममा पेट्रोलियम पदार्थ चुहावट हुँदै आइरहेको गुनासो बढी रहेको बेला अब त्यसलाई रोक्न नेपाल आयल निगमले नयाँ प्रविधिको शुरुवात गरेको छ ।
निगमले इन्धनको चोरी तथा चुहावट रोक्न ट्यांकरहरुमा अत्याधुनिक लकिङ्ग प्रविधि जडान गरेको हो । भारतीय आयल निगमले सन् २००२ देखि अपनाउँदै आएको लकिङ्ग प्रविधिको प्रयोगबाट यसअघि ढुवानीको क्रममा ट्यांकरबाट हुँदै आएको इन्धन चोरी बन्द हुने निगमले विश्वास लिएको छ ।
लकिङ्ग प्रविधि नहुँदा भारतबाट नेपालसम्म इन्धन ढुवानी गर्ने क्रममा बाटोबाटै चोरीहुँदा आवश्यक परिणाममा चुहावट हुँदै आएको आरोप लाग्दै आइरहेको थियो ।
निगमका प्रबन्ध निर्देशक सुशील भट्टराई र धनुषाका प्रमुख जिल्ला अधिकारी गोविन्द पराजुलीले संयुक्त रुपमा आईतबार आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा लकिङ्ग प्रविधिको शुभारम्भ गरेका छन् ।
भारतको बरौनीबाट ढुवानी गरेर महेन्द्रनगर डिपो आइपुगेको ट्यांकरको ताल्चा खोलेर भट्टराई र पराजुलीले लकिङ्ग प्रविधिको उदघाट्न गरेका हुन् । निगमका प्रबन्ध निर्देशक भट्टराईले लकिङ्ग प्रविधिको शुरुवात भएसँगै ढुवानीको क्रममा हुने गरेको इन्धनको चारी निकासी पूर्ण रुपले बन्द हुने विश्वास व्यक्त गरे । ट्यांकर अनुसार फरक फरक ताल्चा बनाइएपनि खोल्न मास्टर साँचो रहेकोले चोरी र चुहावटको संभावना अब सकिएको भट्टराईले बताए ।
‘प्रविधिलाई प्रभावकारी बनाउन निगम कडाईका साथ अगाडी बढ्दै छ,’ उनले भने,‘समय समयमा हामी डिपोहरुको अनुगमन गर्ने छौँ, कार्यालयमा साँचो नपाइएको अवस्थामा डिपो प्रमुख कारबाहीको भागिदार हुनेछ ।’ लकिङ्ग प्रविधिको शुरु भएसँगै प्रत्येक ट्यांकरमा ६० देखि १ सय २० लिटरसम्म बढी इन्धन आउने गरेको उनले जानकारी दिए ।
त्यसैगरी निगमको आपूर्ति तथा वितरण विभागका निर्देशक इन्जिनियर वीरेन्द्र गोइतले अब भारतबाट ढुवानी गरेर ल्याउने सबै ट्यांकर लक भएर आउने भएकोले इन्धन चोरीको संभावना अंत्य भएको बताए ।
चोरी गर्ने उद्देश्यले ट्यांकरमा रहेको ताल्चा अन्य कुनै साँचोले खोल्ने प्रयास गरेको खण्डमा साँचो ताल्चामै अडकिने भएकोले यसो नगर्न गोइतले सचेत गराए । बिल भौचर अनुसारको परिमाणमा इन्धन आपूर्ति हुन नसकेको गुनासो बढ्दै गएपछि निगमले लकिङ्ग प्रविधि अपनाएको उनले बताए ।
केहि व्यवसायीले निगमको मापदण्ड अनुसार ट्यांकर नबनाएकोतर्फ ध्यानाकर्षण गराउँदै निर्देशक गोइतले भने,‘ढुवानीको लागि प्रयोग हुने केहि ट्यांकरहरु निगम मापदण्ड विपरित रहेको हाम्रो जानकारीमा छ । तत्काल मापदण्ड अनुसार बनाउनुस, अनुगमनका समाइए कारबाहीको भागी बन्नु पर्नेछ ।’
भारतीय आयल निगमले आफूहरुलाई हरेक समय सहयोग गर्दै आइरहेको उल्लेख गर्दै उनले नेपालमा गुड्ने सबै ट्यांकरको लागि भारतीय आयल निगमले निःशुल्क रुपमा अत्याधुनिक ताल्चा उपलब्ध गराएको जानकारी दिए ।
निगमले पूर्व झापादेखि पश्चिम कञ्चनपुरस्थित सबै डिपोमा लकिङ्ग प्रणाली शुरु गरिसकेपनि धनुषामा गर्न सकेको थिएन् । निगमले अन्तिम पटक धनुषामा यो प्रविधि जडान गरेको छ ।
निगमको तथ्यांक अनुसार मुलुक भरी प्रत्येक महिना ४५ हजार किलोलिटर पेट्रोल, १ लाख ९५ हजार किलोलिटर डिजेल, ३५ हजार मेट्रिकटन एलपी ग्यास, १ हजार ८ सय किलोलिटर हवाई इन्धन र १८ सय किलोलिटर मट्टितेल खपत हुने गरेको छ ।
त्यसैगरी प्रदेश २ मा पेट्रोल दैनिक ८० हजार लिटर, डिजेल ३ लाख लिटर र एलपी ग्यास ४९ हजार मेट्रिकटन प्रत्येक महिना खर्च हुँदै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४