काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पृथ्वीनारायण शाहले नेपालको आधुनिक राज्यका लागि आवश्यक भौगोलिक एकाइ दिएको कुरा कसैले इन्कार गर्न नमिल्ने स्पष्ट पारेका छन्।
उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पृथ्वी नारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिन्छ। तर, जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक बृहत्तर भौगोलिक एकाइ दिएको कुरा कसैले इन्कार गर्न मिल्दैन।’
उनले आज हामीसँग नेपालको जुन भौगोलिक एकाइ प्राप्त छ यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै रहेको स्पष्ट पारेका छन्।
‘भौगोलिक एकीकरणपश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन्। यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन्।’
कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुने भएकाले पहिलो चरण भौगोलिक एकीकरण नै रहेको थापाको भनाइ छ। उनले भनेका छन्, ‘भौगोलिक एकीकरणपश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन्। यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन्।’
थापाले पृथ्वीनारायण शाहको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हु्न्छ भन्ने डर मान्नु आवश्यक नरहेको उल्लेख गरेका छन्, उनले भनेका छन्, ‘न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ।’
उनले कहिलेकाहीँ तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा न्यायसंगत हुन नसक्ने स्पष्ट पारेका छन्। महामन्त्री थापाले भनेका छन्, ‘त्यसैले, त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मूल्यांकन गर्नुपर्छ।’ ३००औं पृथ्वी जन्मजयन्तीमा उनलाई सम्मानपूर्क सम्झँदै र संविधानको जगमा नेपालभित्रका सबै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गर्न थापाले अपिल गरेका छन्।