काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भारतले सीमामा गरिरहेको बलमिच्याइँ रोक्न सरकारसँग माग गरेको छ।
एमालेका परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतद्वारा गरिएको बलमिच्याइँ रोक्न सरकारसँग माग गरेका हुन्।
नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्नसमेत एमालेले सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपाले यस विषयमा आफ्नो कानुनी तथा राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै छ। ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कूटनीतिक पहल सुरु गरेको यथार्थ पनि स्पष्ट छ। नेपाल–भारत संयुक्त बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुंग्याउने भनी गरिएको सहमतिविपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिइरहेको प्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ।’