पर्वत- नेकपा (एमाले) पर्वतका अध्यक्षमा राजु पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। एमालेका प्रदेश कमिटी सदस्य तथा महाशिला गाउँपालिकाका अध्यक्षसमेत रहेका उनलाई अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा जिल्ला अध्यक्षका रुपमा घोषणा गरेको हो।
महाशिला गाउँपालिका-५ निवासी उनि यसअघि आठौँ जिल्ला अधिवेशनमा अहिलेका केन्द्रीय सदस्य पदम गिरीसँग झिनो मतले पराजित भएका थिए। त्यसअघि उनि एमाले जिल्ला उपाध्यक्षलगायत विभिन्न पदमा बसेर काम गरेका थिए।
त्यसैगरी उपाध्यक्षमा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, सचिवमा गोविन्द पहाडी, सहसचिवमा शिव पौडेल र विमल लामिछाने निविरोध निर्वाचित भएका छन्। नवौँ जिल्ला अधिवेशनवाट ९० जनाको जिल्ला कमिटी नै सर्वसम्मत रुपमा चयन गरिएको अध्यक्ष मण्डलका संयोजक कल्पना चापागाइँले जानकारी दिइन्।
जिल्लाका सातवटै स्थानीय तहबाट मिलाएर सदस्यहरु छनोट गरिएको बताइएको छ। नवनिर्वाचित कार्यसमितिलाई आजै पद तथा गोपनीयताको शपथ खुवाइएको छ। अधिवेशन यही पुस २३ गतेदेखि सुरु भएको थियो।