काठमाडौं-ट्राफिक महाशाखाले पैदलयात्रीलाई बाटो काट्न सिकाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका १३ स्थानमा यो अभियान चलाइएको ट्राफिक प्रहरी महाशाखाका निमिक्त प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्थले नेपाल समयलाई जानकारी दिए ।
पन्थका अनुसार एक महिनासम्म जारी रहने यो अभियानका क्रममा जथाभावी बाटो काट्ने पैदलयात्रीलाई व्यस्त सडकमा बाटो काट्दा ध्यानदिनुपर्ने कुरा, जेब्रा क्रसिङको प्रयोग, आकाशे पुलको प्रयोग लगायतका विषयमा जानकारी गराइने छ ।
उपत्यकामा हुने सवारी दुर्घटनामा ६० प्रतिशत पैदलयात्री जोखिममा रहेको भन्दै पन्थले यसलाई नियन्त्रण गर्न महाशाखाले यो अभियान चलाएको बताए ।
अभियान चलाइएका १३ स्थानमा जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिएर झण्डै दुई घण्टासम्म सचेतना कक्षमा राखेर प्रशिक्षण दिइनेछ । यो अभियानलाई प्रभावकारी बनाउन एक सय ५५ ट्राफिक खटिएका छन् । अभियानको ललितपुरबाट प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले उद्घाटन गरेका थिए ।
प्रहरीले यसअघि पनि अघिल्लो वर्ष यस्तै अभियान जारी राखेको थियो । अघिल्लो वर्ष प्रहरीले जथाभावी बाटो काट्नेलाई २ सय जरिबाना तिराएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४