काठमाडौं- नेकपा एमाले काभ्रेपलाञ्चोकको अध्यक्षमा अशोक व्याञ्जु निर्विरोध चयन भएका छन्। उपाध्यक्षसहित अन्य पदमा भने निर्वाचन हुँदैछ।
धुलिखेल नगरपालिका मेयरसमेत रहेका व्याञ्जु नेकपा फुटदेखि अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा जिल्ला अध्यक्ष बनाइएका थिए।
एमाले जिल्ला महाधिवेशन उद्घाटनकै दिन काभ्रे जिल्ला पुगेका ओलीले जिल्ला इन्चार्ज गोकुल बास्कोटाको सहमतिमा व्याञ्जुलाई अध्यक्ष बनाइएका थिए। यद्यपि जिल्ला अध्यक्ष पदका अन्य आकांक्षीहरूमा पनौती नगरपालिका मेयर भीम न्यौपाने, पूर्व सचिव कञ्चन अधिकारीलगायत नेताहरू थिए।
यता बाग्मती प्रदेश सभाका सांसद एवं पूर्वमन्त्री चन्द्र लामाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। लामासँगै हरिशरण दाहाल र कञ्चन अधिकारी पनि उपाध्यक्ष उठेका छन्।
सचिवमा इन्द्र तामाङ, राजन भुर्तेल र रुद्रबहादुर तामाङले उम्मेदवारी दिएका छन्। भूगोलतर्फका जिल्ला सदस्यमा जनवर्गीय संगठनका केन्द्रीय तहमा काम गरिसकेका युवा नेताहरू नवराज ढकाल, निरोज पाण्डे, सरिता रायमाझी, उपेन्द्र शर्मा, राकेश लामा, होमप्रसाद चौलागाईंलगायतले उम्मेदवारी दिएका छन्।
केपी शर्मा ओलीका विश्वासिला नेता गोकुल बास्कोटाको गृहजिल्ला भएकाले काभ्रे एमालेको नेतृत्व चयनलाई पार्टीभित्र महत्त्वका साथ हेरिएको छ।
१ हजार ४ सय ५ जना मतदाता रहेको काभ्रे एमालेले अध्यक्ष र उप सचिव सहित २६ पदमा भने निर्विरोध गरिसकेको छ। उपाध्यक्ष, सचिव, उपसचिव सहित बाँकी ७९ पदका लागि २ सय २३ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्।