सोमबार, माघ ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हनुमानढोका दरबार क्षेत्र, जहाँ दोहोरो शुल्क उठाएर विदेशी पर्यटकलाई ठगिन्छ

Siddartha premir insuranceSiddartha premir insurance

हनुमानढोका दरबार क्षेत्र, जहाँ दोहोरो शुल्क उठाएर विदेशी पर्यटकलाई ठगिन्छ

काठमाडौं महानगरपालिका र हनुमानढोका दरबार हेरचाह अड्डाबीच समन्वय नहुँदा विदेशी पर्यटक दोहोरो शुल्क बाध्य भएका हुन्।
 |  सोमबार, पुस २६, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

सोमबार, पुस २६, २०७८

ntc landingntc landing

काठमाडौं– काठमाडौंको वसन्तपुर दरबार क्षेत्र जति ऐतिहासिक छ, पर्यटकका लागि उत्ति नै आकर्षक गन्तव्य पनि। यहाँ क्षेत्रमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहदेखि राजा त्रिभुवनसम्मले राजकाज गरेको दबारमात्रै होइन ऐतिहासिक र सांस्कृतिक मठमन्दिर पनि प्रशस्त छन्। जहाँ घुमेपछि पुरानो नेपालको तस्बिर सर्लक्क देख्न पाइन्छ। त्यति मात्रै होइन बेलाबेलामा हुने जात्रापर्वले मौलिकता जीवन्त राखेको छ। 

himalayan bank box

तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप लगायत यहाँका मुख्य आकर्षणका स्मारक हुन्। यही दरबार र मन्दिर अवलोकन गर्न आन्तरिक र बाह्य पर्यटक पुग्छन्। यो क्षेत्र नेपाल घुम्न आएका र नेपालबारे जान्न चाहने प्रायः पर्यटकको रोजाइमा पर्ने गरेको छ। 

विडम्बना नै भन्नुपर्छ यसरी आएका पर्यटक दोहोरो शुल्कको मारमा पर्दै आएका छन्। काठमाडौं महानगरपालिका र हनुमानढोका दरबार हेरचाह अड्डाबीच समन्वय नहुँदा विदेशी पर्यटक दोहोरो शुल्क बाध्य भएका हुन्। दुवै निकायले संग्रहालय प्रवेशमा छुट्टाछुट्टै शुल्क लिइरहेका छन्। पर्यटकले एउटै ठाउँ घुम्न पनि दोहोरो शुल्क तिर्नपरिरहेको छ। 

संघ र स्थानीय तहबीच समन्वय नहुँदा काठमाडौंको वसन्तपुर दरबार स्क्वार भ्रमण गर्न आउने पर्यटकसँग दोहोरो शुल्क उठाइने गरेको हो। 

२०६८ सालमा हनुमानढोका विकास समिति र काठमाडौं महानगरपालिकाबीच एकद्वार प्रणालीबाट टिकट सञ्चालन गर्ने र सम्झौताअनुसार रकम बाँड्ने सहमति भएको थियो। २०७६ चैतसम्म यहाँ पुग्ने सार्क राष्ट्रका पर्यटकले १५० र अन्य राष्ट्रबाट आएकाले ७५० रुपैयाँ तिर्नुपर्थ्यो। जसमा सार्क राष्ट्रका पर्यटकबाट उठाएकोमध्येबाट ५० रुपैयाँ र अन्य राष्ट्रका पर्यटकबाट उठाएकोमध्ये २५० गरेर महानगरले पुरातत्त्व विभागलाई उपलब्ध गराउँदै आएको थियो। तर, २०७७ सालमा  महानगरले पुरातत्त्व विभागसँग सल्लाह नगरी ७५० को टिकट शुल्क बढाएर १ हजार बनायो। त्यति मात्र होइन, सम्झौता वास्तै नगरी पुरातत्त्व विभागलाई रकमसमेत दिन छाड्यो। 

‘छुट्टै टिकट सुरु गरेसँगै अड्डामा गुनासो बढ्नुका साथै पर्यटकको संख्यामा पनि उल्लेख्य कमी आएको छ। यो हाम्रो पनि बाध्यता हो।’

भूकम्पपछि महानगरले एकलौटी रूपमा निर्णय गरी १ हजार रुपैयाँ पुर्‍याए पनि अड्डाले २५ प्रतिशतका दरले मात्र रकम उपलब्ध गराउँदै आएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए। कोरोना महामारी सुरु हुनुअगाडि नै महानगरले साढे तीन करोड रुपैयाँ तिर्न बाँकी थियो। सबै हिसाब गर्दा अहिले महानगरले चार करोड तिर्न बाँकी छ। महानगरले रकम नपाएपछि आफूहरुले पनि असोज १ गतेदेखि ३ सय रुपैयाँ टिकट राखिएको बताए। उनले भने, ‘छुट्टै टिकट सुरु गरेसँगै अड्डामा गुनासो बढ्नुका साथै पर्यटकको संख्यामा पनि उल्लेख्य कमी आएको छ। यो हाम्रो पनि बाध्यता हो। महानगरलाई पटकपटकभन्दा पनि जवाफ नआएपछि पर्यटकसँग ३ सय लिन सुरु गरेका हौं। महानगरले रकम दिनासाथ हामी टिकट बन्द गछौं। तर, महानगरबाट कुनै जबाफ आएको छैन।’

महानगर हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख रोशनमान शाक्यले आर्थिक अभावका कारण उपलब्ध गराउन नसकेको स्वीकारे। उनले भने, ‘हाम्रो आर्थिक स्रोत टिकट हो, त्यसैको पैसाले विभिन्न व्यवस्थापन गर्नुपर्ने भएकाले नदिएका हौं।’ उनका अनुसार कोरोनाअघिसम्म मासिक १० करोड रुपैयाँ आम्दानी हुन्थ्यो। अहिले मासिक १० लाख मात्रै आम्दानी हुने गरेको छ। शाक्यले भने, ‘सम्झौताअनुरुप रकम दिन सकिएको छैन। यस विषयमा छलफल भइरहेको छ।’