काठमाडौं- आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो। आयोगले आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ।
तीनै तहको सरकार, सरकारका मन्त्रीहरू, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।
आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरूलाई निर्देशनसमेत दिएको छ।
आचारसंहिता लागू भएपछि कुनै पनि पार्टी वा उम्मेदवारलाई भोट माग्न पाइँदैन। आचार संहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पर्यवेक्षक, सरकारी अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि प्रदेश-२ मा दुईवटा मतदान स्थल र अरु प्रदेशमा एक/ एक मतदानस्थल रहने निर्वाचन आयोगले जाएको छ। आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि २०२५ जना मतदाताको नामावली स्वीकृत गरेको छ।
आयोगले राष्ट्रिय सभा सदस्य चुनावमा सहभागी हुने दलहरूलाई हिजो चुनाव चिह्न प्रदान गरेको छ। राष्ट्रिय सभा सदस्य चुनावमा सातवटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन्।