काठमाडौं- ४० हजार नेपाली लाभान्वित हुने गरि दक्षिण कोरिया सरकारले श्रमिकको तलब झण्डै ११ प्रतिशतले बढाउने निर्णय गरेको छ । सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १० दशमलव ९ प्रतिशत बढाउने निर्णय गरेको हो ।
सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जे इनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप लागू गर्न लागिएको कोरियाली समाचार संस्था द कोरिया टाइम्सले जनाएको छ । दक्षिण कोरियामा तीन दशकपछि उच्चतम विन्दुमा तलव वृद्धि गरिएको उसले उल्लेख गरेको छ ।
यो निर्णयले इपिएसमार्फत दक्षिण कोरिया पुगेका नेपालीहरु समेत प्रत्यक्ष लाभान्वित हुने भएका छन्। नेपालस्थित इपिएस कोरिया शाखाको पछिल्लो तथ्याङ्क अनुसार हाल दक्षिण कोरियामा ४० हजार बढी नेपाली कामदार कार्यरत छन् ।
नयाँ तलवमान लागु भएपछि कामदारले प्रति घण्टा ८ हजार ३ सय ५० कोरियन वान अर्थात सात दशमलव ३७ अमेरिकी डलर पाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४