काठमाडौं- राष्ट्रिय सभाको माघ १२ गतेदेखि हुने निर्वाचनका लागि सोमबारदेखि आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगले आइतबार विज्ञप्ति प्रकाशित गर्दै निर्वाचन अवधीभर आचारसिंहता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ।
आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व भएको र उल्लंघन भएमा कानुनी कारबाही समेत हुने हुँदा आचार संहिताको पूर्णरुपमा पालना गर्न/गराउन आयोग सम्पूर्ण सरोकारवालाहरुमा निर्देश गर्दछ।'
तीनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई यो आचारसंहिता लागु हने आयोगले जनाएको छ। त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकरी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन्।
आयोगको विज्ञप्ति अनुसार निर्वाचनका काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैर सरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गर्नुपर्ने छ।