बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • केन्द्रीय कमिटी बैठक बस्न नसकेपछि माओवादी पदाधिकारी चयन अन्योलमा

केन्द्रीय कमिटी बैठक बस्न नसकेपछि माओवादी पदाधिकारी चयन अन्योलमा

नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन अन्योलमा परेको छ। आज आइतबार केन्द्रीय कमिटीको बैठक बसेर पदाधिकारी चयन गर्ने तयारी थियो।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन अन्योलमा परेको छ। आज आइतबार केन्द्रीय कमिटीको बैठक बसेर पदाधिकारी चयन गर्ने तयारी थियो। तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण देखिएपछि बैठक अनिश्चित बनेको छ। 

नेताहरु मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत, सत्या पहाडी, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। थुप्रै नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। 

अध्यक्षसहितका नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरेर १४ जना पदाधिकारी चयन अन्योलमा परेको हो। माओवादी महाधिवेशन केन्द्रीय सदस्य मात्रै चयन गरेर सकिएको थियो। पुस ९ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा दाहाललाई चयन गरेको थियो भने अन्य पदाधिकारी आज चयन गर्ने कार्यतालिका थियो। 

चीनमा उपचार गराइरहेका नेता वर्षमान पुन स्वदेश फर्किए पछि मात्रै अन्य पदाधिकारी चयन गर्ने गरी बैठक डाकिएको थियो। पुन स्वदेश फर्किसकेका छन्। माओवादीमा कोरोना संक्रमण तीव्र बनेपछि बैठक नै अन्योलमा परेको छ। अन्य पदमा सहमति हुने देखिए पनि महासचिवमा भने नेताहरुले आफ्नो दाबी छाडेका छैनन्। वर्षमान पुन र जनार्दन शर्माले महासचिवमा अडान कायम राखेका छन्। 

माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष गरेर १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ। अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेको छैन। २९९ सदस्यीय केन्द्रीय कमिटीमा पनि २३६ जना मात्रै चयन भएका छन्। बाँकी सदस्य केन्द्रीय कमिटीले चयन गर्नेछ।

प्रकाशित: Jan 09, 2022| 12:27 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...