काठमाडौं- १६ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्यअवस्था जटिल बन्दै गएको छ । मुस्किलले बोलिरहेका डा केसीको घाँटी र नसामा संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् ।
उनको मुटुको चाल असामान्य बन्दै गएको छ भने पिसाबमा ’केटोन बडी’ अत्याधिक देखिन थालेको छ भने शरीरमा सञ्चित बोसोहरु पग्लेर मांसपेशी पनि टुक्रिन थालेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । डा केसी अनसन बसेको स्थानमा चिकित्सकहरुले आवश्यक पर्नासाथ प्रयोगमा ल्याउनेगरी भेन्टिलेटरको समेत व्यवस्था गरेका छन् ।
अनसन सुरु गरेको समयमा भन्दा अहिले उनी ९ किलोग्राम घटेको पनि चिकित्सकहरुले जानकारी दिएका छन् । डा केसीलाई उपचारका लागि काठमाडौं ल्याउन लागिए पनि उनले नजाने अडान लिएका छन् ।
यता सरकार भने डा केसीको माग सम्बोधन गर्ने विषयमा अझै मौन बसेको छ । अहिलेसम्म औपचारिक रुपमा एक पटक पनि वार्तामा नबसको सरकार जसरी हुन्छ उनको अनशन तुहाउने रणनीतिमा लागेको चिकित्सकहरुको आरोप छ । सरकार डा केसीको माग सम्बोधन गर्ने भन्दा उनको माग विपरित चिकित्सा शिक्षा विधेयक संसद्बाट पास गर्ने तयारीमा जुटेको छ । प्रधानमन्त्री केपी ओलीले यसअघि नै डा केसीका सबै माग पुरा गर्न नसक्ने भन्दै अनशन रोक्न आग्रह गरेका थिए ।
डा केसीले भनमाफिया, डन नेता र भ्रष्टाचारमुखी चिकित्सा विधेयक फिर्ता नभएसम्म आमरण अनशन नरोकिने बताएका छन् । शनिबार काठमाडौंमा भएको प्रदर्शनलाई अडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले आफ्नो माग दुर्गमका उपेक्षित र निमुखा जनताको हितमा रहेकाले आफू विधेयक फिर्ता नभएसम्म अन्तिमसम्म अनशनमा रहने बताएका थिए ।
चिकित्सा क्षेत्र सुधारको माग राख्दै असार १६ गतेदेखि जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा केसी अनशन बस्दै आएका छन् ।
....................
यस्ता छन् डा केसीका मागहरुः
केदारभक्त माथेमा आयोगले चिकित्सा शिक्षामा सुधारका लागि दिएको प्रतिवेदनको कार्यान्वयनको माग गर्दै डा गोविन्द केसीले निरन्तर अनसनमा बस्दै आएका छन्। यो उनको १५ औं अनशन हो।
१. चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस्।
२. आइओएमका डीनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस्। माफिया डीनको पुनर्वहाली तुरुन्त खारेज गरियोस्।
३. मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागबन्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरियोस्।
४. त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी हामीले राखेका मागहरु पूरा गरियोस्।
५. सरकारी संस्था भएकाले त्रिवि शिक्षण अस्पतालको शैक्षिक कार्यक्रम र सेवा प्रवाहको सम्पूर्ण आर्थिक भार राज्यले व्यहोर्ने व्यवस्था गर्ने। हाल १० प्रतिशत मात्र शय्याहरु निःशुल्क भएकोमा त्यसलाई बढाएर ५० प्रतिशत पुर्याइनुपर्ने। आम नागरिकहरुका लागि उपचार सस्तो र सुलभ बनाउने तथा अस्पतालका विद्यार्थी, चिकित्सक र कर्मचारीलाई विगतमा जस्तै सम्पूर्ण उपचारको व्यवस्था गर्ने।
६. कार्यरत नर्स तथा विद्यार्थीहरुका लागि नयाँ आवास तथा छात्रवासको व्यवस्था गर्ने, अडिटोरियम हल र परीक्षाहलसहित उपयुक्त क्षमताका क्याम्पस भवनहरुको निर्माण गर्ने। पुस्तकालय वर्षभर चौबिसै घन्टा र सातै दिन खुला राख्ने व्यवस्था गर्ने।
७. अस्पतालको औषधि पसल विस्तार र सही व्यवस्थापन गरेर अस्पतालमा आएका सबै बिरामीलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउने व्यवस्था गर्ने।
८. इमर्जेन्सी विभागमा आउने सबै बिरामीका लागि सुविधाजनक उपचारकालागिसेवा बिस्तार तथा वृद्धि गर्ने, बिरामी दलालहरु तथा तिनलाई प्रयोग गर्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने। आइसियू, एनआइसियू, अपरेसन थिएटर लगायतका संरचना र क्षमता बिस्तार गरेर अधिकतम बिरामीलाई सेवादिने र अपरेशनको ‘क्यू’ घटाउने। साथै संविधानमा लेखिए बमोजिम सबै खालको इमर्जेन्सी सेवा पूर्णरुपमा निःशुल्क गर्ने।
९. चिकित्सक, नर्स र कर्मचारीहरुलाई वरिष्ठता र योग्यताअनुसार समयमा स्थायी र बढुवा गर्ने व्यवस्था गर्ने। नियम तथा मान्यता मिचेर नेता (नर्स, कर्मचारी, चिकित्सक र प्राविधिकहरु) र पदाधिकारीहरुको नातागोता तथा पार्टीका कार्यकर्ताहरुलाई नियमविपरीत पदस्थापना, स्थायी र बढुवा नगर्ने तथा गरेकालाई खारेज गर्ने।
१०. थप शुल्क लिएर दिइने इएचएस सेवाअन्तर्गत शल्यक्रिया लगायतका सेवालाई तुरुन्त कार्यान्वयन गर्ने।
११. शौचालयहरु थप्ने, सरसफाइका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने तथा अस्पतालका बिरामीहरुलाई असर नपर्ने गरी इन्सीनरेटरको व्यवस्थापन गर्ने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४