काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि केपी शर्मा ओली भुक्दै हिँडेको आरोप लगाएका छन्।
यस्तै अध्यक्ष नेपालले कोही डाक्टर भए उपचार गरिदिन सुझावसमेत दिए। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपालले आफूले गज्जव काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप लगाएका हुन्।
नेपालले भने, ‘ओलीले बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे। त्यो प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको हो। बालुवाटारबाट बालकोट पुग्नेबित्तिकै भुक्नु परेछ। तपाईंहरुमध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ। विचराको त्यो हालत!’
अध्यक्ष नेपालले ओलीको पीडा कहिले कहिले भोमिट गरेर र कहिले शब्दबाट निस्कने गरेको बताए।
अध्यक्ष नेपालले ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणीसमेत गरे। ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको उनको दाबी थियो। अध्यक्ष नेपालले भने, ‘अहिले केपी ओलीलाई राप्रपा प्यारो छ, महन्थ ठाकुर प्यारा छन्, विदेशीहरु प्यारा छन्।’
प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरुको जुलुस त्यहाँ पुग्ने गरेको तर बालुवाटारबाट विदा हुने बेलामा त्यहाँ कोही पनि नगएको नेपालको आरोप छ। अध्यक्ष नेपालले ओलीको पीडा कहिले कहिले भोमिट गरेर र कहिले शब्दबाट निस्कने गरेको बताए।
ओलीमा व्यक्तिवाद र मैमत्त प्रवृत्ति चढेको नेपालको आरोप छ। उनले भने, ‘म भन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो। उनमा दम्भी नेताको विशेषता देखियो।’