काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद अवरोध खुलाउने विषयमा छलफल गरेका छन्।
शनिबार बिहान ओली निवास बालकोट पुगेका देउवाले संसद्को गतिरोध हटाउने विषयमा छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
संसद बैठकमा एमाले सांसदहरुको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले ‘जबरजस्ती’ संसद चलाइरहेका छन्।
भदौ २३ गते बसेको पहिलो बैठकयता प्रमुख प्रतिपक्षी दलले निरन्तर संसदमा अवरोध काय राख्दै आएको छ। अहिले प्रतिनिधिसभाको १० औं अधिवेशन चलिरहेको छ। एमाले अवरोध पनि कायमै छ।
संसद बैठकमा एमाले सांसदहरुको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले ‘जबरजस्ती’ संसद चलाइरहेका छन्। प्रमुख प्रतिपक्षको रचनात्मक भूमिका सांसदमा हुनुपर्ने भए पनि एमाले संसदमा आक्रामक रुपमा प्रस्तुत भएको छ। जसका कारण संसदमा नियमित रुपमा सभामुखविरुद्ध नाराबाजी हुने गरेको छ।
सभामुखले समान व्यवहार नगरेको आरोप एमालेको छ। आफनो दलले कारबाही गरेका सांसदबारे सभामुख सापकोटाले सूचना टाँस नगरेको र त्यसका कारण आफ्नो दल फुटेको भन्दै एमाले सभामुख सापकोटासँग क्रुद्ध बनेको छ। तर, सभामुख सापकोटाले भने आफ्नो तर्फबाट कुनै गल्ती नभएको र अदालतमा विचारधीन विषयमा संसदमा बहस गर्न नमिल्ने बताउँदै आएका छन्। प्रतिनिधिसभाको अर्को बैठक आगामी बुधबार बस्ने कार्यसूची छ।
प्रकाशित: Jan 08, 2022| 10:41 शनिबार, पुस २४, २०७८