काठमाडौं– यतिबेला विश्वमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन फैलिरहेको छ। दैनिक २२ लाखभन्दा बढी कोरोना संक्रमित थपिइरहेका छन् विश्वभर। अन्य भेरिएन्ट भन्दा ओमिक्रोन बढी संक्रामक भएको विभिन्न अध्ययनले पनि देखाएको छ। ओमिक्रोन हालसम्म १५० भन्दा धेरै देशमा फैलिसकेको छ।
नेपालमा २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि कुल संख्या २७ पुगेको हो।
पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो। एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुनाहरुमा एस जिन नेगेटिभ आउनेको संख्या बढेसँगै नेपालमा ओमिक्रोन भेरिएन्ट फैलिएको आशंका गरिएको छ। एस जिन नेगेटिभ आएपछि उक्त नमुनामा ओमिक्रोन छ कि छैन भनेर जिन सिक्वेन्सिङ गर्न सुरु गरिएको प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन्। जिन सिक्वेन्सिङबाट कोरोना भाइरसको नयाँ भेरिएन्ट पत्ता लगाइन्छ। भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने परीक्षण नै जिन सिक्वेन्सिङ हो।
नेपालमा गत मंसिर १९ गते पुष्टि भएको भेरिएन्ट पनि राष्ट्रिय जनस्वासथ्य प्रयोगशालमा जिन सिक्वेन्सिङ गर्दा पत्ता लागेको थियो। विदेशबाट आएका उनीहरुमा पीसीआर परीक्षणका क्रममा एस जिन नेगेटिभ आएपछि जिन सिक्वेन्सिङ गरिएको थियो।
डा. झाले नेपाल समयसँग भनिन्, ‘एस जिन बढ्दै गएको छ, मंसिर १९ गते दुई जनामा ओमिक्रोन पुष्टि हुँदा २ हजार ५०० भन्दा बढी परीक्षण गरिएको थियो। त्यो बेला दुई जनाको एस जिन नेगेटिभ आएको थियो, त्यसैलार्ई जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको थियो। त्यो संख्या अहिले बढेको छ। अहिले १ हजारको परीक्षण गर्दा ५ वटा नमुनामा वटा एस जिन नेगेटिभ केसहरु भेटिरहेका छन् । यसको मतलब नेपालमा ओमिक्रोन बढिसकेको छ।’
झाका अनुसार हाल प्रयोगशालमा २५ जना भन्दा बढीमा एस जिन नेगेटिभ रिपोर्टहरु छन्, उनीहरुको जिन सिक्वेन्सिङ भइरहेको छ, आइतबार रिपोर्ट आउँछ। रिपोर्ट आएपछि प्रयोगशालाले कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई रिपोर्टिङ गर्ने उनले बताइन्। इपिडिमियोलोजीका महानिर्देशक डा. कृष्णप्रसाद पौडेल भन्छन्, ‘एस जिन नेगेटिभ बढेको भन्ने सुनिएको छ, त्यसको मतलब हामीले ओमिक्रोन बढेको बुझ्न सक्छौं।
पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुनाहरुमा एस जिन नेगेटिभ आउनेको संख्या बढेसँगै नेपालमा ओमिक्रोन भेरिएन्ट फैलिएको आशंका गरिएको छ।
कोरोना पुष्टि भएका नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा स्क्रिनिङ गर्ने गरिएको छ। प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार परीक्षणका क्रममा एस जिन नेगेटिभ आएका नमुनाको मात्र जिन सिक्वेन्सिङ गरिन्छ। प्रयोगशालामा पहिले पीसीआर परीक्षण गरिन्छ। पीसीआर परीक्षणमा कोरोना पोजेटिभ र एस जिन नेगेटिभ आएमा सिक्वेन्सिङ गरिन्छ।
अहिले ओमिक्रोन भेरिएन्टमा एस जिन म्युटेसन भएकाले एस जिन नेगेटिभ आएमा जिन सिक्वेन्सिङ गरिन्छ। गुप्ता भन्छन्, ‘जिन सिक्वेन्सिङमा चार वटा जिन परीक्षण गर्ने गरिएको छ, एस जिन, आर डी आरपी जिन, ओ आर एफ जिन र एन जिन। विश्व स्वास्थ्य संगठनले नै पीसीआर परीक्षणमा तीनवटा जिनहरू मध्ये एस जिन नदेखिएमा जिन सिक्वेन्सिङ गरी ओमिक्रोन भेरिएन्टको संक्रमण मान्न सकिने बताएको छ ।
गुप्ताले थपे, ‘सबै नमुनाको जिन सिक्वेन्सिङ गर्नु पर्दैन। मापदण्डभित्र परेका नमूनाको मात्र जिन सिक्वेन्सिङ गरिन्छ। हाल सीमा नाकामा कोरोना पोजेटिभ भएका नमुनाहरु प्रयोगशालामा ल्याउन थालिएको छ। उनीहरुको सिक्वेन्सिङ गर्ने काम भइरहेको छ। अन्य भेरिएन्टहरुमा सबै जिन पोजेटिभ आउँथ्यो। एस जिन पनि पोजेटिभ नै आउँथ्यो। तर ओमिक्रोन भेरिएन्टमा एस जिन म्युटेसन भएकाले एस जिन नेगेटिभ आउँछ र त्यसलाई सिक्वेन्सिङ गरिन्छ। जिन सिक्वेन्सिङबाट एउटा भेरिएन्ट मात्र नभई अन्य उत्परिवर्तन पत्ता लगाउन सकिन्छ।’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो तीन महिनादेखि जिन सिक्वेन्सिङ गर्दै आएको छ। पीसीआर संकलनदेखि जिन सिक्वेन्सिङसम्मको रिपोर्टका लागि ७ देखि १० दिन कुर्नुपर्ने प्रयोगशालाको भनाइ छ। विज्ञहरुका अनुसार एस जिन नेगेटिभ बढ्दै जानुको अर्थ नेपालमा पनि ओमिक्रोन भेरिएन्ट फैलिरहेको बुझ्न सकिन्छ। अन्य भेरिएन्ट भन्दा संक्रामक मानिएको यो भेरिएन्ट नियन्त्रणका लागि जिम्मेवार र आम मानिस सचेत हुनैपर्ने विज्ञहरु बताउँछन्।