काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्रै विचार र सिद्धान्त बोकेको पार्टी भएको दाबी गरेका छन्। एमालेको जिल्ला अधिवेशनलाई आज थापाथलीस्थित पार्टी मुख्यालयबाट भर्चुअल उद्घाटन गर्दै ओलीले अन्य पार्टीमा विचार र सिद्धान्त नै नरहेको तर्क गरे।
उनले समृद्ध नेपाल र सुखी नेपाली एमालेको चाहना रहेको दोहोर्याए। ‘समृद्ध नेपाल र सुखी नेपालीको चाहना बोक्ने एमाले एक्लो पार्टी हो। एमाले सामाजिक न्यायसहितको समृद्धि चाहन्छ,’ उनले भने। आधुनिकताको प्रयोग गर्दै एमालेले समृद्धि चाहेको ओलीले बताए। राम्रा काम गर्दा व्यवधान आउने भए पनि त्यसमा नआत्तिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
आज एमालेले देशभर नै नयाँ नेतृत्व चयन गर्न लागेको बताउँदै उनले सक्षम र सबल नेतृत्व चयन हुने विश्वास व्यक्त गरे। नेतृत्वले नै समृद्धिको यात्रा तय गर्ने ओलीको भनाइ छ। उनले अब आउने नेतृत्व उदेश्यसहितको समूह हुने बताए।
आफूहरूले नेतृत्व चयन गर्दै गर्दा देशको अर्थतन्त्र र विकासलाई नै ध्यान दिएको उनले बताएका छन्। पार्टीको नीतिमा त्यो कुरा स्पष्ट रहेको उनको भनाइ छ। ‘केही विद्वानले नीति र विधान नै नपढेर गलत टिप्पणी गरेको पाइन्छ। हाम्रा कार्यकर्ताले आफ्ना नीति र विधान पढेर ती प्रश्नको जवाफ दिनुपर्छ,’ उनले भने। ओलीले राजनीतिक नीति, अर्थ नीति र सामाजिक नीतिलगायत नीतिमा एमाले स्पष्ट रहेको बताए।
एकातिर हिँड्ने भनेर अर्को तिर जान नहुने भन्दै ओलीले भने, ‘यहाँ केही कम्युनिस्टले दर्शन र सिद्धान्त भूलेर गठबन्धन गरेको देखिएको छ। पाँच दिशातिर फर्किएको गठबन्धनको सरकार बनेको छ। गतिमा गएको सरकारलाई विभिन्न तिकडम गरेर ढालिएको छ,’ उनले भने। जनतामा केही भ्रम परे पनि त्यसले खासै अर्थ नराख्ने उनले दाब िगरे।
प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६१ जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जिल्ला अधिवेशन हुँदैछ।
सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो। महाधिवेशनपूर्व एमालेले पालिकास्तरको अधिवेशन एकै दिन गरेको थियो।
एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिसो मौसम र आन्तरिक तयारी अपुग भएका हिमालीलगायत १६ जिल्लामा आज अधिवेशन तोकिए पनि स्थगन भएको छ। मौसमी प्रतिकूलताका कारण जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोकिनेछ।
गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले यही पुस २३ गतेका लागि जिल्ला र आगामी माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो। महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ। ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन्।