काठमाडौं– सत्तारुढ गठबन्धनले गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसद् सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ।
बैठकको निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद् अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताए। संसद् सुचारु गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षीको पनि हुने उनले तर्क गरे।
कार्कीले भने, ‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको संयन्त्रले मूल रुपमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल केन्द्रीत गरेको छ। यो बैठक हिजोकै बैठकको निरन्तरता हो। अर्को विषय संसद् लामो समयदेखि अवरुद्ध छ। यसरी संसद् अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन। त्यसैले संसद् सुचारु गर्ने बारेमा पनि छलफल भएको छ। संसद् सुचारु गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ।’
त्यसैगरी समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए। सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम सुचारु गर्ने बताए।