बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आफूविरुद्ध उजुरी परेपछि चौधरीले भने– निर्वाचितलाई लान्छित गर्नु कार्यकर्ताको अपमान हो

आफूविरुद्ध उजुरी परेपछि चौधरीले भने– निर्वाचितलाई लान्छित गर्नु कार्यकर्ताको अपमान हो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधानअनुसार नै सम्पूर्ण प्रक्रिया पूरा गरेर १४ औं महाधिवेशनमा निर्वाचित भएको बताएका छन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधानअनुसार नै सम्पूर्ण प्रक्रिया पूरा गरेर १४ औं महाधिवेशनमा निर्वाचित भएको बताएका छन्।

महाधिवेशनका विधिसम्मत प्रक्रियामार्फत नेतृत्व छनोटका लागि भएको निर्वाचनमा आफैं सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि उनले प्रतिक्रिया दिएका छन्।

‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत् रूपमा दावी विरोधको समय उपलब्ध गराएको थियो। यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन? आफैं सोही निर्वाचनमा उम्मेदवार हुने र विजयी हुन नसकेपछि विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन। नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिँदैन,’ चौधरीले सामाजिक सञ्जालमा भनेका छन्।

कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२ सय ६ प्राप्त गरी विजयी भएका थिए। सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए। निर्वाचनमा पराजित भएको तीन सातापछि यादवले विधानमाथि प्रश्न उठाएका छन्। 

हिजो बुधबार यादवले चौधरीको वैधानिकतामाथि प्रश्न उठाउँदै कांग्रेस निर्वाचन समितिमा उजुरी दिएका थिए। कांग्रेसको विधानविपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै सिरहा क्षेत्र ३ का महासमिति सदस्य यादवले उजुरी दिएका हुन्।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित)ले केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि निश्चित मापदण्ड तोकेको भए पनि चौधरी विधानविपरीत केन्द्रीय सदस्य बनेको उजुरीमा जिकिर गरिएको छ। निवेदनमा उनलाई केन्द्रीय सदस्य पदबाट हटाई निजको ठाउँमा निकटतम प्रतिस्पर्धी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गर्दै यादवले निवेदन दिएका छन्। 

केन्द्रीय सदस्यमा निर्वाचित हुनुअघि चौधरी कांग्रेस महासमिति सदस्य थिए। उनी संघीय सांसद तथा उद्योगपति पनि हुन्। चौधरी २०७४ सालमा नेकपा एमालेबाट कांग्रेसमा प्रवेश गरेका थिए। केन्द्रीय सदस्यको उम्मेदवार हुन कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था रहेको यादवले निवेदनमा उल्लेख गरेका छन्।

विधानले नै चौधरीलाई केन्द्रीय सदस्यको उम्मेदवार बन्नबाट रोकेको उनको भनाइ छ। यादवले निवेदनमा भनेका छन्, ‘मधेशी खुला पदमा निर्वाचित भनिएका विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नरहेको र निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकाले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ।’


प्रकाशित: Jan 06, 2022| 13:45 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...